अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कमजोर बन्दै गएको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न प्रयासरत छन् । यसै क्रममा उनी एसिया भ्रमणमा निस्किँदै छन् ।

उनले एसियाका दुई महत्त्वपूर्ण क्षेत्रीय सम्मेलनमा सहभागी हुनुका साथै चीन र रुसका राष्ट्रपतिसँग संयुक्त बैठक गर्ने तयारी गरेका छन् ।

ट्रम्पले यस साता फिलिपिन्सको मनिलामा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) र चीनको सेन्जेनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनमा सहभागिता जनाउनेछन् । बिहीबार चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनको त्रिपक्षीय बैठक हुने कार्यक्रम छ ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि ट्रम्पको राजनीतिक शक्ति र अन्तर्राष्ट्रिय प्रभावबारे प्रश्न उठ्न थालेको छ । निर्वाचनको परिणामले विदेशमा आफ्नो प्रभाव कमजोर नहुने ट्रम्पले बताएका छन् । उनले आफू निर्वाचनको उम्मेदवार नभएको र मतदाता कंग्रेससँग असन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

तर, विपक्षी डेमोक्रेटिक पार्टीको सफलताले अमेरिकी विदेश नीतिमा ट्रम्पको निर्णय क्षमता र प्रभावकारितामाथि पनि प्रश्न उठेको छ । विशेषगरी व्यापारमा लगाइएका विश्वव्यापी भन्सार शुल्क र इरानसँगको युद्धका कारण बढेको महँगीले मतदातामा असन्तुष्टि बढाएको विश्लेषण गरिएको छ ।

अमेरिकी राष्ट्रपति विदेश भ्रमणमा निस्किएर घरेलु राजनीतिक दबाबबाट केही समय टाढा रहने र अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्ने परम्परा पुरानै हो । सन् १९८२ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले मध्यावधि निर्वाचनमा राजनीतिक धक्का बेहोरेपछि ल्याटिन अमेरिकी देशहरूको भ्रमण गरेका थिए । त्यसयता बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामाले पनि मध्यावधि निर्वाचनपछि एसिया तथा अन्य क्षेत्रको भ्रमण गरेका थिए ।

ट्रम्पको यसपटकको भ्रमणमा चीनसँगको व्यापारिक सम्बन्ध र प्रविधि प्रतिस्पर्धा पनि महत्त्वपूर्ण विषय बन्नेछ । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार अमेरिकाले थाइल्यान्डसँग नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । ट्रम्पले चीनसँग पनि आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्न खोजिरहेका छन् ।

यद्यपि, इरान युद्ध र रुस–युक्रेन युद्धको विषयले भ्रमणलाई प्रभावित पार्न सक्नेछ । मध्यपूर्वको द्वन्द्वका कारण एसियाली मुलुकहरूमा इन्धनको मूल्य बढेको छ । ट्रम्पले चीनले इरानबाट तेल खरिद गर्ने विषय सी जिनपिङसँग उठाउने सम्भावनाबारे भने स्पष्ट जवाफ दिएका छैनन् ।

त्यस्तै, ट्रम्प, सी र पुटिनबिचको बैठकमा युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणको विषय पनि उठ्न सक्नेछ । अमेरिका र रुसबिचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि गत फेब्रुअरीमा समाप्त भएको थियो । दुवै देशसँग करिब पाँच हजार आणविक हतियार रहेको अनुमान छ । उता चीनले पनि आफ्नो आणविक हतियार भण्डार बढाउँदै ६०० भन्दा बढी पुर्‍याएको छ ।

अमेरिकी अधिकारीहरूले त्रिपक्षीय बैठकबाट तत्काल कुनै ठुलो सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् । उनीहरूका अनुसार यसको मुख्य उद्देश्य तीन देशबिच आणविक हतियार नियन्त्रणलगायत विषयमा संवादको सुरुवात गर्नु हो ।

यसैबिच, चीनले उक्त बैठकलाई विश्व परिस्थितिलाई स्थिर बनाउन सहयोग पुग्ने महत्त्वपूर्ण पहलका रूपमा व्याख्या गरेको छ । ट्रम्पले भने शक्तिशाली चीन र रुसका नेताहरूसँग एउटै मञ्चमा उपस्थित भएर आफ्नो अन्तर्राष्ट्रिय नेतृत्व प्रदर्शन गर्ने अवसरका रूपमा भ्रमणलाई उपयोग गर्न खोजेको विश्लेषण गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय