काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्य तथा धादिङको थाक्रे गाउँपालिका पार्टी संयोजक दयाराम कार्कीले पार्टीको साधारण सदस्यतासमेत त्यागेका छन्।
कार्कीले मंगलबार प्रदेश तथा जिल्ला कमिटीमा राजीनामा पत्र बुझाउँदै पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यताबाट अलग भएको घोषणा गरेका हुन्।
२०५७ साल चैत १३ गते तत्कालीन नेकपा माओवादीको साधारण सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका कार्कीले करिब २६ वर्षपछि पार्टी छाड्ने निर्णय गरेका हुन्।
राजीनामा पत्रमा उनले पार्टीभित्र बढ्दै गएको गुट–उपगुट, आपसी अविश्वास, एकअर्काको खुट्टा तान्ने प्रवृत्ति र व्यक्तिगत स्वार्थ हाबी हुँदै गएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गर्दा आफूले पद र पहुँचलाई व्यक्तिगत लाभको माध्यम नबनाएको उल्लेख गर्दै उनले बदलिँदो राजनीतिक परिस्थिति, आफ्ना विचार, आत्मसम्मान र व्यक्तिगत निर्णयका आधारमा पार्टीबाट अलग हुने निष्कर्षमा पुगेको बताएका छन्।
कार्कीको राजीनामासँगै धादिङको थाक्रे गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टीको संगठनात्मक राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।








