काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवश्यक परे सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई मानसिक र सङ्गठनात्मक रूपमा तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आन्दोलनको तयारीलाई पार्टीको प्रमुख कार्यभारका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले आन्दोलनका लागि सधैँ लामो समय तयारी गर्न सम्भव नहुने उल्लेख गर्दै परिस्थिति असह्य बने जुनसुकै बेला आन्दोलन सुरु हुन सक्ने बताए । सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै ओलीले निर्वाचन, जनविद्रोह तथा अन्य राजनीतिक गतिविधिबाट सत्ता परिवर्तन हुने गरेको टिप्पणी गरे ।

एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई कमजोर बनाउने तथा समाप्त पार्ने प्रयास भएको स्मरण गरे ।

अहिले पनि एमाले देशको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै ओलीले नागरिकमा बढ्दो बेचैनी र निराशालाई सम्बोधन गर्न पार्टी वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनमा केन्द्रित हुनुपर्ने बताए ।

उनले केही राजनीतिक शक्तिहरू निर्वाचनलाई लक्षित गर्दै पार्टी निर्माणमा लागिरहेको टिप्पणी गर्दै एमाले भने पार्टी निर्माण गरेर मात्र नभई बलियो सङ्गठनसहित निर्वाचनमा सहभागी हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा ओलीले पार्टीको केन्द्रीय कमिटीले आगामी कार्यभारका रूपमा आन्दोलन र सङ्गठनलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै आवश्यकताअनुसार आन्दोलनका लागि सधैँ तयार रहन नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय