काठमाडौँ । नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारीमा रहेको पूर्वसभापति शेरबहादुर देउवा समूहले सातै प्रदेशको अधिवेशन गर्ने मिति तय गरेको छ ।
समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयका अनुसार सातै प्रदेशका अधिवेशनमा पूर्वसभापति देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । सम्पर्क कार्यालयका मुख्यसचिव दीपक कुइकेलले सबै प्रदेशको अधिवेशनको मिति निश्चित भइसकेको जानकारी दिएका छन् ।
निर्धारित कार्यतालिकाअनुसार सबैभन्दा पहिले मंसिर ५ गते गण्डकी प्रदेशको अधिवेशन पोखरामा हुनेछ । त्यसैगरी मंसिर ७ गते लुम्बिनी प्रदेशको अधिवेशन बुटवल वा दाङमध्ये एक स्थानमा गर्ने तयारी छ ।
यस्तै, मंसिर १३ गते कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा, मंसिर १४ गते मधेस प्रदेशको अधिवेशन जनकपुरमा र मंसिर १५ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ ।
त्यसैगरी सबैभन्दा अन्तिममा मंसिर १७ गते कोसी प्रदेशको अधिवेशन विराटनगरमा आयोजना गर्ने तय भएको कुइकेलले जानकारी दिए ।
देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । त्यसअघि समूहले जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने प्रक्रिया अघि बढाइरहेको छ ।
समूहले गत असोज १५ गतेदेखि अधिवेशन प्रक्रिया सुरु गरेको थियो ।








