काठमाडौं । छठ पर्वपछि खुलेको सेयर बजार पहिलो कारोबार दिनमै दोहोरो अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.७९ अंकले घटेर २ हजार ६३६ अंकमा झरेको हो ।
आज कारोबारमा आएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढेको छ भने १८५ वटाको घटेको छ । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार अवधिभर अधिकांश समय बजार दबाबमा देखिएको थियो । यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज अधिकांश समूहगत सूचक पनि ओरालो लागेका छन् । बैंकिङ ०.४७, विकास बैंक ०.८४, फाइनान्स ०.५५, होटल तथा पर्यटन १.२१, जलविद्युत् ०.३१ र लगानी समूह ०.२७ प्रतिशतले घटेका छन् ।
त्यस्तै जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.६९, अन्य ०.५८ र व्यापार समूह ०.०२ प्रतिशतले घटेका छन् ।
आज अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्सको ६ प्रतिशत, अपोलो हाइड्रोपावरको ५.६५ प्रतिशत, माउन्ट एभरेस्ट पावरको ५.५० प्रतिशत र सानीगढ हाइड्रोको ३.८० प्रतिशतले मूल्य बढेको छ ।
यसैगरी एभरेस्ट कलरको सेयर मूल्य ५.३६ प्रतिशतले घटेको छ । सीवाईसी लघुवित्तको ४.८६, विजय लघुवित्तको ४.४९, बेनी हाइड्रोपावरको ४.१२ र स्वस्तिक लघुवित्तको ३.६६ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ । त्यसपछि सेन्ट्रल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स पावर, श्वेतगंगा हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन् ।








