काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
राप्रपाको आगामी आठौँ महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा रहेको शाहीले बताएका छन् । मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा आफू अध्यक्ष पदमा उठ्ने उनले जानकारी दिएका हुन् ।
अनलाइनखबरसँग कुरा गर्दै शाहीले एक–दुई दिनभित्र औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने बताए । ‘अध्यक्ष पदमा उठ्ने हो । १/२ दिनमा अध्यक्षमा उठ्ने औपचारिक घोषणा गर्नेछु,’ उनले भने ।
राप्रपाको विद्यमान विधानअनुसार केन्द्रीय अध्यक्षको उम्मेदवार बन्न केन्द्रीय पदाधिकारीका रूपमा कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था छ । पार्टीमा अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्ष, प्रवक्ता, सहमहामन्त्री र सहायक महामन्त्रीलगायत पदाधिकारी मानिन्छन् । शाही हाल पार्टीको प्रवक्ता पदमा छन् ।
आगामी महाधिवेशनलाई लिएर राप्रपाभित्र नेतृत्वका आकांक्षीहरू पनि देखिन थालेका छन् । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रो कार्यकालका लागि अध्यक्ष बन्ने इच्छा देखाएका छन् । यद्यपि, उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पनि अध्यक्ष पदका आकांक्षीका रूपमा देखिएका छन् । उनलाई पूर्वअध्यक्षद्वय कमल थापा र डा. प्रकाशचन्द्र लोहनीको समर्थन रहेको बताइएको छ । थापा, लोहनी र पाण्डेले महाधिवेशनलाई लक्षित गर्दै जिल्ला भ्रमणसमेत सुरु गरिसकेका छन् ।
सोमबार पोखरामा आयोजित कार्यक्रममा शाही पनि सहभागी भएका थिए । गत निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जित्ने राप्रपाका एक्ला उम्मेदवारसमेत रहेका शाहीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणाले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।








