सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको पलासेमा भएको माइक्रोबस दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पठाउने तयारी गरिएको छ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मंगलबार दिउँसो करिब २ बजे जनकपुरबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट खसेर अधेरी खोलाको बगरमा पुगेको थियो। दुर्घटनामा १४ जना घाइते भएका छन्।
गम्भीर घाइते हुनेमा धनुषाको सहिदनगर नगरपालिकाका १४ वर्षीय पियुस गोहित, ३ वर्षीया बम साह र १५ वर्षीय प्रिन्स साह तथा जनकनन्दिनी गाउँपालिकाकी ३५ वर्षीया सीता यादव रहेका छन्। त्यस्तै, नाम र ठेगाना नखुलेका एक पुरुष पनि गम्भीर घाइते भएका छन्।
उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूको खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।








