मोरङको उत्तरी क्षेत्र मिक्लाजुङमा सञ्चालन गरिएको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। शिविरमा ३ हजार ५०० जनाको आँखा परीक्षण गरिएको छ भने २७५ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको छ।

मिक्लाजुङ गाउँपालिकाको आयोजना, तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग तथा मधुमल्ला अस्पतालको स्थानीय सहजीकरणमा शिविर सञ्चालन गरिएको हो। मिक्लाजुङ गाउँपालिका–२ स्थित मिक्लाजुङ आधारभूत अस्पतालमा कार्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म शिविर सञ्चालन गरिएको थियो। शिविरमा मिक्लाजुङसहित उत्तरी मोरङका विभिन्न क्षेत्र तथा छिमेकी जिल्ला इलाम र झापाबाट समेत आँखाका बिरामीहरू उपचारका लागि आएका थिए। विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतसँग सम्बन्धित तिलगंगा आँखा अस्पतालको प्राविधिक टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। शिविरमार्फत सयौँ नागरिकले आँखाको परीक्षण तथा उपचार सेवा निःशुल्क प्राप्त गरेका छन्।

मोतियाबिन्दुका कारण लामो समयदेखि दृष्टिसम्बन्धी समस्या भोगिरहेका बिरामीको सफल शल्यक्रियापछि दृष्टि फर्किने आशा पलाएको छ। स्थानीयस्तरमै विशेषज्ञ टोलीबाट गुणस्तरीय उपचार सेवा उपलब्ध भएपछि उत्तरी मोरङसहित छिमेकी जिल्लाका नागरिकसमेत लाभान्वित भएका छन्। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरले स्थानीयवासीलाई ठूलो राहत पुर्‍याएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय