काठमाडौं । नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्मको अवधिमा भ्रमण आय ३२.७ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा पर्यटकबाट १९ अर्ब २३ करोड रुपैयाँ बराबरको भ्रमण आय प्राप्त भएको थियो ।
यस अवधिमा नेपालीले विदेश भ्रमणमा गर्ने खर्च भने घटेको छ । राष्ट्र बैंकका अनुसार तीन महिनामा भ्रमण व्यय १५.७ प्रतिशतले घटेर ५४ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च ६४ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।
कुल भ्रमण व्ययमध्ये शिक्षासम्बन्धी खर्च ३६ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा शिक्षातर्फ ४२ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको थियो ।
सेवातर्फको आयभन्दा व्यय बढी भएपछि खुद सेवा खाता १९ अर्ब ५५ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खुद सेवा खाता घाटा ३२ अर्ब २७ करोड रुपैयाँ थियो ।
पर्यटकबाट प्राप्त हुने आम्दानी बढ्नु र विदेश भ्रमण तथा शिक्षामा हुने खर्च घट्नुले सेवा खाताको घाटा अघिल्लो वर्षको तुलनामा कम भएको देखिन्छ ।








