काठमाडौं । इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतले सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।

सापकोटासँग सम्पर्क तथा सम्बन्ध देखिएको आधारमा प्रहरीले श्रेष्ठ र भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

प्रहरीले सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको छ । श्रेष्ठ र भट्टमाथि भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्क तथा सम्बन्धबारे अनुसन्धान गर्ने क्रममा सापकोटाको नाम सार्वजनिक भएपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले सापकोटासँग जोडिएका व्यक्तिहरूको सम्पर्क, सम्भावित आर्थिक कारोबार र त्यसको प्रकृतिबारे थप अनुसन्धान गरिरहेको छ । अदालतबाट म्याद थप हुँदैमा उनीहरू कसुरदार ठहर भएका भने होइनन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय