काठमाडौं । नेपाली सेनाले जनताको सूचनाको हक र नागरिक स्वतन्त्रताको सम्मान गर्दै आफ्ना गतिविधिबारे सञ्चारमाध्यममार्फत समयमै जानकारी गराउने प्रतिबद्धता जनाएको छ ।

सैनिक मुख्यालयमा बिहीबार पत्रकारहरूसँग आयोजित अन्तरक्रियामा नवनियुक्त सैनिक प्रवक्ता तथा जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी राजेन्द्र श्रेष्ठले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै सेनाले नागरिकको सूचनाको हकलाई सधैँ सम्मान गर्ने बताएका हुन् ।

उनले नेपाली सेना सञ्चारमाध्यमसँग समन्वय र सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । विकास निर्माण तथा अन्य सैन्य गतिविधिबारे आवश्यक सूचना सञ्चारमाध्यममार्फत समयमै सार्वजनिक गरिने उनको भनाइ थियो ।

सेना र सञ्चारमाध्यमबीचको सम्बन्ध व्यावसायिक तथा सुमधुर रहेको उल्लेख गर्दै श्रेष्ठले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा कहिलेकाहीँ भ्रमपूर्ण तथा मिथ्या सूचना फैलिने गरेकोप्रति चिन्ता व्यक्त गरे । यस्ता गलत सूचनाको प्रवृत्ति रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय सङ्कटका बेला नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै उनले आमसञ्चारकर्मीले पनि राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

कार्यक्रममा नेपाली सेनाका निवर्तमान प्रवक्ता राजाराम बस्नेतले राष्ट्रिय सुरक्षा र सूचनाबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गरे । उनले नेपाली सञ्चारमाध्यमले सेनासँग समन्वय गरी सूचना प्रवाह गर्दै आएको बताए ।

त्यसैगरी वरिष्ठ पत्रकार बबिता बस्नेतले राष्ट्रिय सुरक्षा तथा अन्य संवेदनशील विषयमा प्रेस र सेनाबीचको समन्वय र सहकार्यले भ्रमपूर्ण सूचना नियन्त्रण गर्न सहयोग पुग्ने धारणा राखिन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय