नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उपाधि यात्रालाई जीवित राख्ने लक्ष्यसहित आज काठमाडौं गोर्खाज र चितवन राइनोज एलिमिनेटरमा आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्न ५ बजे प्रतियोगिताको एलिमिनेटरमा उनीहरुले प्रतिस्पर्धा गर्नेछन्।

लिग चरणमा तेस्रो र चौथो स्थान हासिल गरेका काठमाडौं र चितवन लागि यो खेल जित्नैपर्ने दबाबको हुनेछ। पराजित हुने टोलीको प्रतियोगिताबाट बिदाइ हुनेछ भने विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।

लिग चरणको प्रदर्शन हेर्दा काठमाडौं र चितवनको यात्रा फरक छ। काठमाडौंले सुरुवाती लयलाई अन्तिमसम्म कायम राख्न सकेन भने चितवनले उतारचढावबीच आफ्नो स्थान प्लेअफमा सुरक्षित गरेको हो।

काठमाडौंले ७ खेलबाट ४ जित र ३ हारसहित ८ अंक जोड्यो। चितवनले तीन जित, तीन हार र एक नतिजाविहीन खेलबाट सात अंक बटुल्यो। अंकतालिकामा एक स्थान र एक अंकको अन्तर भए पनि दुवै टोलीका कमजोरी र बलिया पक्ष एलिमिनेटरमा निर्णायक बन्न सक्छन्।

काठमाडौं : सुरुवाती लय फर्काउने चुनौती

काठमाडौं गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार बेहोरेपछि उत्कृष्ट पुनरागमन गरेको थियो। त्यसपछि लगातार चार खेल जित्दै काठमाडौंले आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा प्रस्तुत गर्‍यो। कर्णाली याक्स, विराटनगर किंग्स, लुम्बिनी लायन्स र चितवन राइनोजलाई पराजित गर्दै काठमाडौंले प्लेअफको सम्भावना बलियो बनाएको थियो।

विशेषगरी विराटनगरविरुद्ध ९ विकेटको जित र लुम्बिनीविरुद्ध ३६ रनको सफलताले टोलीको सन्तुलित प्रदर्शन देखाएको थियो। यो टिमले लिग चरणको अन्त्यतिर जितको लय खस्कायो। सुदूरपश्चिम रोयल्ससँग सात रन र पोखरा एभेन्जर्ससँग ५५ रनको हारले टोलीलाई दबाबमा पार्‍यो। लगातार दुई हारपछि काठमाडौंले तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो।

ब्याटिङमा राशिद खान काठमाडौंका महत्वपूर्ण खेलाडीका रूपमा देखिएका छन्। उनले लिग चरणमा १८६ रन बनाएका छन्। सुरुवाती चार खेल खेलेका डेविड वार्नरले पनि १२७ रनको योगदान दिएका थिए। वार्नरको अनुपस्थितिपछि ब्याटिङको जिम्मेवारी अन्य खेलाडीमा थपिएको छ। बलिङमा पाकिस्तानी बलर जाहनदाद खानले १२ विकेट लिएका छन्। सन्तोष यादवले पनि महत्वपूर्ण समयमा विकेट निकाल्दै प्रभाव पारेका छन्। कप्तान करण केसीको नेतृत्वमा रहेको काठमाडौंले एलिमिनेटरमा ब्याटिङ र बलिङ दुवैमा सामूहिक प्रदर्शन गर्नुपर्नेछ।

चितवन : बलिङकै भरमा प्लेअफ यात्रा

चितवन राइनोजको यात्रा सहज रहेन। सात खेलमा तीन जित मात्र निकालेको चितवनले एक खेल वर्षाका कारण नतिजाविहीन हुँदा चार टोलीबीचको प्लेअफ दौडमा आफूलाई कायम राख्यो।
विराटनगर किंग्सविरुद्ध आठ रनको जितबाट प्रतियोगिता सुरु गरेको चितवनले पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सलाई पनि पराजित गर्‍यो। तर सुदूरपश्चिम, काठमाडौं र कर्णालीसँगको हारले टोलीको यात्रा कठिन बनायो।

चितवनको सबैभन्दा बलियो पक्ष बलिङ देखिएको छ। कमलसिंह ऐरी र रिजन ढकालले समान १२ विकेट लिँदै प्रतियोगिताको सर्वाधिक विकेट लिने बलरको सूचीमा आफूलाई संयुक्त शीर्ष स्थानमा राखेका छन्। दुवैको प्रदर्शन चितवनलाई प्लेअफसम्म पुर्‍याउन महत्वपूर्ण रह्यो।

ब्याटिङमा रवि बोपारा र डेविड मलानले अनुभव र जिम्मेवारी देखाएका छन्। बोपाराले १८४ रन बनाउँदा मलानको नाममा १४९ रन छ। सिकन्दर राजा र कप्तान कुशल मल्लबाट पनि टोलीले महत्वपूर्ण योगदानको अपेक्षा गर्नेछ। चितवनले एलिमिनेटरमा आफ्नो बलियो बलिङलाई निरन्तरता दिँदै ब्याटिङमा पनि जिम्मेवार प्रदर्शन गर्नुपर्नेछ। विशेषगरी शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिन सके टोलीको सम्भावना बलियो बन्न सक्छ।

अघिल्लो भेटको दबाब काठमाडौंमाथि कि चितवनमाथि?

लिग चरणमा यी दुई टोलीबीच भएको प्रतिस्पर्धामा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको काठमाडौंले ८ विकेट गुमाएर १८० रन बनाएको थियो। जवाफमा चितवनले ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। उक्त खेलमा राशिद खानले ५२ रन बनाउँदै काठमाडौंको जितमा महत्वपूर्ण योगदान दिएका थिए।

यसपटक चितवनसँग अघिल्लो हारको नतिजा बदल्ने अवसर छ। अर्कोतर्फ काठमाडौंलाई लिग चरणमा निकालेको जितको आत्मविश्वास हुनेछ। तर नकआउट चरणको खेलमा अघिल्लो नतिजाभन्दा वर्तमान प्रदर्शन महत्वपूर्ण हुनेछ।
काठमाडौंका लागि ब्याटिङमा निरन्तरता र बलिङमा अनुशासन आवश्यक देखिन्छ। चितवनका लागि भने कमलसिंह र रिजनको बलिङसँगै अनुभवी विदेशी खेलाडीको ब्याटिङ निर्णायक हुन सक्छ।

दुवै टोलीको लिग चरणको प्रदर्शनले उनीहरूमा क्षमता रहेको प्रमाणित गरिसकेको छ। अब त्यो क्षमतालाई निर्णायक खेलमा उतार्न सक्ने टोली नै दोस्रो क्वालिफायर पुग्नेछ। बुधबारको एलिमिनेटरमा काठमाडौं आफ्नो सुरुवाती लय फर्काउन चाहन्छ भने चितवन बलियो बलिङको सहारामा अर्को चरणको यात्रा तय गर्ने लक्ष्यमा हुनेछ।

एनपीएलको उपाधि यात्रामा अब दुवै टोलीका लागि गल्ती गर्ने छुट छैन। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको जित निकाल्दै लुम्बिनी लायन्सले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। यसर्थ, यी दुई टोलीमध्ये विजेता टोलीले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय