काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङको दायाँ टनेल बुधबार ‘ब्रेक थ्रु’ गरिएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारस्थित ३.४४५ किलोमिटर लामो सुरुङको राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेक थ्रु गरेका हुन्।
महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि ३.४८६ किलोमिटर लामो बायाँ टनेल गत भदौमा छिचोलिएको थियो। बुधबार दायाँ टनेलको समेत ब्रेक थ्रु भएसँगै दुवै सुरुङको खन्ने काम पूरा भएको छ।
ललितपुरको खोकनादेखि बाराको निजगढसम्म जोडिने करिब ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमा सातवटा सुरुङ निर्माण भइरहेका छन्। ती सुरुङको कुल लम्बाइ करिब ११.२ किलोमिटर छ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाको भौतिक प्रगति हाल करिब ५०.५४ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५२ प्रतिशत रहेको छ।
सुरुमा निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि सरकारले आयोजनाको म्याद थप गरी २०८६ चैत मसान्तसम्म पुर्याएको छ।
महादेवटार सुरुङको ब्रेक थ्रु सम्पन्न भए पनि सुरुङको भित्री संरचना, लाइनिङ, सडक निर्माण तथा अन्य प्राविधिक काम बाँकी छन्। त्यसैले आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न बाँकी निर्माण कार्यलाई तीव्रता दिनुपर्ने चुनौती कायमै छ।








