काठमाडौं । सरकारले आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप १ हजार ६०० टेलिफोन टावर निर्माण गर्ने भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले करिब १२ अर्ब रुपैयाँ लागतको ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन्।

मंसिर २ गते मन्त्रालयमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका, जुगल हिमाल तथा आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको मागसहित पुगेका जनप्रतिनिधि र स्थानीयसँगको छलफलमा मन्त्री तिमिल्सिनाले मानव बस्ती भएका सबै क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए।

उनका अनुसार ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन गरेर देशभर सञ्चार सेवा विस्तारको काम अघि बढाइएको छ। टावर निर्माणमा बजेट अभावभन्दा पनि प्रक्रियागत जटिलता र निर्धारित समयमा काम सम्पन्न नहुनु मुख्य चुनौती रहेको उनले औंल्याए।

मन्त्री तिमिल्सिनाले नागरिकका गुनासो तत्काल सम्बोधन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्। आवश्यकताअनुसार नयाँ टावर निर्माण, पुराना टावरको क्षमता वृद्धि तथा प्राविधिक समस्या समाधान गर्न उनले नेपाल टेलिकमलाई आग्रह गरे।

विद्युत् सुविधा नपुगेका क्षेत्रमा उच्च क्षमताका सौर्य ऊर्जा प्रणाली र ब्याट्रीको व्यवस्था गरी टावर सञ्चालन गर्न पनि उनले निर्देशन दिए। सञ्चालनमा रहेका टावरले पूर्ण क्षमतामा सेवा दिइरहेका छन् वा छैनन् भन्ने नियमित निरीक्षण गरी समस्या देखिएका स्थानमा तत्काल सुधार गर्नुपर्ने उनको भनाइ थियो।

छलफलमा काठमाडौं क्षेत्र नं. १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्टले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासो आइरहेको उल्लेख गर्दै दुर्गम तथा हिमाली क्षेत्रमा सेवा पहुँच र गुणस्तर सुधार गर्न आग्रह गरे।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले जुगल गाउँपालिकामा तत्काल प्राविधिक टोली पठाएर सञ्चार सेवाको अवस्थाबारे स्थलगत अध्ययन गरिने बताइन्। प्राविधिक समस्या पहिचान गरी आवश्यक सुधार अघि बढाइने उल्लेख गर्दै उनले टावर निर्माण तथा सेवा विस्तारमा स्थानीय तहको सहयोग आवश्यक रहेको बताइन्।

छलफलमा सहभागी जुगलका स्थानीय युवाहरूले गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको अवस्थामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढे पनि सञ्चार सुविधाको अभाव चुनौती बनेको बताए।

उनीहरूले जुगल हिमाल, जुगल भ्यु पोइन्ट र आधार शिविरसम्म मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गर्न माग गरेका छन्। समुद्री सतहदेखि करिब ४ हजार ५०० मिटर उचाइमा रहेको जुगल भ्यु पोइन्ट र आधार शिविर क्षेत्रमा सेवा पुर्‍याउन उपयुक्त स्थानमा नयाँ टावर स्थापना गर्नुपर्ने उनीहरूको माग छ।

त्यस्तै, मेलम्ची डाँडाको टावर मर्मत तथा क्षमता वृद्धि, पाङ्ग्रेप डाँडाको टावर पुनः सञ्चालन र बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेम्बाथान तथा दिप्पुङलगायत बस्तीमा भरपर्दो फोरजी सेवा उपलब्ध गराउन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय