काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका विभिन्न रिसोर्टमा विदेशी नागरिकको बसाइ र गतिविधिबारे प्रहरीले अनुसन्धान तीव्र पारेको छ। यसक्रममा पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ भने पनौतीको बल्थली माउन्टेन रिसोर्टबाट ४० जना विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको विवरण प्रहरीले दिएको छ।

ह्वाइट पार्क रिसोर्टबाट नियन्त्रणमा लिइएका ३६ जनामा ३१ पुरुष र पाँच महिला छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रवीन विष्टका अनुसार उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभागमा पठाउने तयारी गरिएको छ।

प्रहरीका अनुसार उनीहरूमध्ये २६ जनाको पासपोर्ट फेला परेको छ। प्रारम्भिक जाँचमा उनीहरू भिजिट भिसामा नेपाल आएको देखिएको डीएसपी विष्टले बताएका छन्।

रिसोर्टबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन बरामद गरिएको छ। ती उपकरणको क्यामेरामा टेप लगाइएको र सर्भरजस्तो देखिने छुट्टै कोठासमेत बनाइएको प्रहरीको प्रारम्भिक निरीक्षणमा देखिएको छ।

उनीहरूले करिब एक महिनादेखि रिसोर्ट भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ। बरामद उपकरणको प्राविधिक तथा फरेन्सिक परीक्षणपछि मात्रै उनीहरूको गतिविधिबारे थप विवरण खुल्ने प्रहरीको भनाइ छ।

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत परिचालन गरिएको छ। बरामद ल्यापटप र मोबाइलको परीक्षणपछि उनीहरू कुन गतिविधिमा संलग्न थिए भन्ने विषय स्पष्ट हुने प्रहरीले जनाएको छ।

बल्थली माउन्टेन रिसोर्टबाट ४० विदेशी नागरिक नियन्त्रणमा

यसैबीच, पनौती नगरपालिका–११ स्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जना जापानी र पाँच जना चिनियाँ नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ।

प्रहरीका अनुसार बुधबार बिहान करिब ११ बजे डीएसपी राकेश थापाको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूले रिसोर्ट पूरै भाडामा लिएर बसेको बताइएको छ।

रिसोर्टभित्र छुट्टाछुट्टै क्याबिन, फोटो स्टुडियो तथा प्रहरी कार्यालयजस्तै देखिने दुईवटा संरचना बनाइएको पाइएको विवरणमा उल्लेख छ। ती संरचना र उपकरणको प्रयोग के प्रयोजनका लागि गरिएको थियो भन्नेबारे भने अनुसन्धानबाट खुल्न बाँकी छ।

प्रहरीले उनीहरूको गतिविधि र नेपाल बसाइको उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ। हालसम्म उनीहरू कुनै गैरकानुनी गतिविधिमा संलग्न रहेको पुष्टि भएको छैन।

काभ्रेका विभिन्न रिसोर्टमा विदेशी नागरिक लामो समयदेखि भाडामा बस्दै आएको विषय सार्वजनिक भएपछि उनीहरूको बसाइको वैधानिकता र गतिविधिबारे सुरक्षा निकायले चासो बढाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय