सिरहाको मिर्चैयामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका युवकको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले टिपरसहित चालकलाई पक्राउ गरेको छ ।
गत कात्तिक २० गते राति करिब १०ः५० बजे मिर्चैया नगरपालिका–६ स्थित भोला बाबा पेट्रोल पम्प नजिक मोटरसाइकल र अर्को सवारीसाधन एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मधेश प्रदेश २–०१–००२ प २६५३ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको हरिवन नगरपालिका–११ घर भई हाल मिर्चैया नगरपालिका–६ बस्दै आएका सुरज कुमार साह दुर्घटनामा घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको थियो ।
प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार दुर्घटनापछि फरार रहेको सवारीसाधनको खोजी गर्ने क्रममा ना. ८ ख ५९५४ नम्बरको टिपर पहिचान भएको र खोजी गर्ने क्रममा चालक सिन्धुलीको फिक्कल गाउँपालिका–७ निवासी २६ वर्षीय सोमबहादुर दमाईलाई प्रहरीले कात्तिक ३० गते दिउँसो करिब ४ बजे उदयपुरको कटारी नगरपालिका–२ बाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चालकलाई टिपरसहित इलाका प्रहरी कार्यालय मिर्चैया ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








