काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिएका छन्।
रुस भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजनालगायतका कामलाई वर्तमान सरकारले निष्कर्षमा पुर्याउनुपर्ने बताए।
उनले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता तथा कृषि विकाससँग सम्बन्धित सहमति र समझदारीलाई पनि कार्यान्वयनको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीको कार्यशैली र भारत भ्रमणको विषयमा केही अस्पष्टता रहे पनि सरकारले राम्रो काम गरे समर्थन र सहयोग गर्ने तथा गलत काम गरे आलोचना गर्ने आफ्नो स्पष्ट नीति रहेको प्रचण्डले बताए।
यसैबीच, रुस भ्रमणका क्रममा आयोजित सम्मेलनमा विश्वमा भइरहेका युद्ध तथा तनाव, ब्रिक्स, बहुध्रुवीय विश्व व्यवस्था, प्यालेस्टाइन र युक्रेनलगायतका विषयमा आफ्नो पार्टी र नेपालको धारणा प्रस्तुत गरिएको उनले जानकारी दिए।








