काठमाडौं । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय (ननपार्टिजन) प्रणालीबाट गर्न माग गरेको छ। स्थानीय तहलाई दलीय राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै जनमुखी, पारदर्शी र जवाफदेही शासन व्यवस्था स्थापित गर्न गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको अभियानको निष्कर्ष छ।

अभियानले स्थानीय तहको निर्वाचन प्रणाली सुधार तथा सर्वदलीय राजनीतिक संवादमा नागरिक समाजको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै बिहीबार निर्वाचन आयोगसमक्ष ज्ञापनपत्र बुझाएको हो।

अभियानका अध्यक्ष एवं संयोजक ऋषि धमलाको नेतृत्वमा आयोग पुगेको टोलीले स्थानीय तहमा बढ्दो दलीयकरण, राजनीतिक ध्रुवीकरण, भागबन्डा तथा बजेट विनियोजनमा देखिएका समस्याले स्थानीय शासनको प्रभावकारितामा असर पारेको जनाएको छ।

त्यस्तै, सार्वजनिक सेवा प्रवाह र वित्तीय अनुशासनमा देखिएका विचलन नियन्त्रण गर्न पनि स्थानीय तहलाई दलीय राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने अभियानको माग छ।

ज्ञापनपत्रमार्फत अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था मिलाउन सरकारलाई सिफारिस गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ। राजनीतिक दलका चुनाव चिह्नको सट्टा स्वतन्त्र निर्वाचन चिह्नको व्यवस्था गरी उम्मेदवारलाई स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउनुपर्ने मागसमेत गरिएको छ।

अभियानले निर्वाचन प्रणाली सुधार, आचारसंहिता निर्माण, कानुन संशोधन तथा स्थानीय तहको निर्वाचनसम्बन्धी सर्वदलीय छलफल, परामर्श र नीतिगत बहसमा नागरिक समाजको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेको छ।

त्यसैगरी, गैरदलीय स्थानीय तह निर्वाचनका लागि आवश्यक कानुनी तथा प्रशासनिक आधार तयार गरी आगामी निर्वाचनको मिति घोषणा गर्न अभियानले आग्रह गरेको छ।

नेपालको संविधान २०७२ ले स्थानीय तहलाई स्थानीय स्वायत्तता, जनसहभागिता र प्रत्यक्ष जनउत्तरदायित्वका आधारमा सञ्चालन गर्ने परिकल्पना गरेको उल्लेख गर्दै अभियानले स्थानीय सरकारलाई दलगत हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएको छ।

निर्वाचन प्रणाली सुधार तथा स्थानीय तहको संरचनागत बहसमा नागरिक समाजको आवाजलाई संस्थागत रूपमा समेट्नुपर्ने मागसहित अभियानले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय