झापा । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिहीबार राति करिब १०ः४० बजे बाह्रदशी गाउँपालिका–५ स्थित खटखटी टोलको चारपाने–राजगढ भित्री सडकखण्डमा दुर्घटना भएको हो।

राजगढबाट चारपानेतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मधेस प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको अनुहार नचिनिने अवस्थामा रहेकाले पहिचान खुल्न सकेको छैन। उनीहरूको उमेर करिब ३० देखि ३५ वर्ष रहेको अनुमान गरिएको छ।

दुर्घटनापछि धान काट्ने मेसिन घटनास्थलमै छाडेर चालक फरार भएका छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कानुनी प्रक्रिया पूरा गरी राति १२ः४५ बजे दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय