काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच शक्ति संघर्ष चलिरहेको दाबी गरेका छन् ।

दैलेखमा आयोजित पार्टीको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले रास्वपाभित्रको आन्तरिक संघर्ष बाहिरसमेत देखिन थालेको बताएका हुन् ।

‘अहिले देखिराख्नुभएको छ, खासमा रास्वपामा संघर्ष छ, प्रधानमन्त्री र सभापतिबीच,’ उनले भने ।

पुनका अनुसार रास्वपाभित्रको विवाद अदालतदेखि प्रहरी प्रशासनसम्म पुगेको छ । उनले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई समेत पार्टीभित्रको शक्ति संघर्षसँग जोडेर व्याख्या गरे ।

उनले रास्वपाभित्रको विवादका कारण सञ्चारमाध्यम र राजनीतिक दलहरूमाथि समेत प्रभाव परेको आरोप लगाए । सभापति र प्रधानमन्त्रीनिकट व्यक्तिहरूलाई फरक–फरक व्यवहार गर्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो ।

‘सभापति नजिक भयो भने थुन्दिने, पक्रिने, तर्साउने अनि प्रधानमन्त्री नजिक भयो भने छोडिदिने जस्तो भइराखेको छ,’ पुनले भने ।

नेता पुनले सरकारको कार्यशैलीप्रति पनि प्रश्न उठाए । विधि, विधान र कानुनी प्रक्रियाभन्दा व्यक्तिको निकटताका आधारमा निर्णय हुने गरेको आरोप लगाउँदै उनले राज्य सञ्चालनमा स्वेच्छाचारिता र निरंकुशता बढ्दै गएको बताए ।

उनले पूर्वप्रधानन्यायाधीश, सचिव तथा उद्योगी–व्यवसायीलगायत विभिन्न व्यक्तिलाई पक्राउ गर्ने र पछि पर्याप्त आधारबिना छाड्ने गरिएको दाबी गरे । यस्ता घटनाले राज्य सञ्चालनमा मनोमानी बढेको उनको टिप्पणी थियो ।

रास्वपाभित्र सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच चलिरहेको शक्ति संघर्षकै कारण सरकारको कार्यशैलीमा यस्तो अवस्था देखिएको पुनको निष्कर्ष छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय