काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अक्वान’को प्रभाव बढ्दै गएपछि भारतका ओडिशा, आन्ध्र प्रदेश र पश्चिम बङ्गालका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात नोभेम्बर २० अर्थात् शुक्रबार दिउँसो आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ । यसका कारण तीव्र गतिको हावाहुरी र भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित राज्यका सरकारले उद्धार टोली परिचालन, आपत्कालीन प्रतिकार्य संयन्त्र सक्रिय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम तीव्र पारेका छन् ।
ओडिशाका मुख्यमन्त्री मोहनचरण माझीका अनुसार राज्यका विभिन्न क्षेत्रबाट करिब ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मानवीय क्षति हुन नदिन तटीय, होचा तथा पहाडी क्षेत्रमा उद्धार र सतर्कताका कार्यक्रम सञ्चालन गरिएको उनले बताएका छन् ।
आईएमडीले उत्तरी आन्ध्र प्रदेश, यानम र दक्षिणी ओडिशाका केही क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चक्रवात नरसापुर र पुरीबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको विभागको पछिल्लो पूर्वानुमान छ ।
चक्रवातको प्रभावले नोभेम्बर १९ देखि २१ सम्म ओडिशा र पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । पश्चिम बङ्गालका पूर्वी तथा पश्चिम मेदिनीपुर जिल्लामा अत्यधिक भारी वर्षाको सम्भावना रहेको छ भने दक्षिण २४ परगना, हावडा, झारग्राम र बाँकुरालगायत जिल्लामा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
कोलकातामा पनि नोभेम्बर १९ देखि २१ सम्म मेघगर्जनसहित वर्षा र तीव्र हावा चल्ने सम्भावना छ । समुद्रमा अवस्था प्रतिकूल हुन सक्ने भन्दै मौसम विभागले पश्चिम बङ्गालका तटीय तथा आसपासका समुद्री क्षेत्रमा माछा मार्न नजान माझीहरूलाई आग्रह गरेको छ ।
सम्बन्धित निकायले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना पालना गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।








