काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकै खुसी र उत्साहित देखिएको उनका विदेश नीतिसम्बन्धी प्रमुख सल्लाहकार युरी उशाकोभले बताएका छन् ।
चीनको शेन्जेनमा बिहीबार भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उशाकोभले दुई नेताबीचको छलफल राम्रो भएको जानकारी दिएका हुन् । उनका अनुसार भेटवार्ता करिब ३५ देखि ४० मिनेटसम्म चलेको थियो ।
भेटका क्रममा मुख्य रूपमा युक्रेन युद्ध र अमेरिका–रुस द्विपक्षीय सम्बन्धबारे छलफल भएको उशाकोभले बताए । उनले उक्त भेटलाई चिनियाँ राष्ट्रपति सी चिनफिङसहित हुने त्रिपक्षीय शिखर वार्ताको तयारीका रूपमा समेत व्याख्या गरेका छन् ।
भेटवार्ताका क्रममा कुनै महत्वपूर्ण सार्वजनिक घोषणा नभएको पनि उनले जानकारी दिए । दुई नेताबीचको छलफलपछि पुटिन ‘उत्कृष्ट मुड’मा रहेको उनको भनाइ थियो ।
भेटअघि ट्रम्पले पुटिनलाई ‘उनी मेरा मित्र हुन्’ भन्दै स्वागत गरेको दृश्य रुसी सञ्चारमाध्यममा व्यापक रूपमा प्रसारण भएको छ ।
ट्रम्प र पुटिनको भेट एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा भएको हो । दुवै नेताले त्यसपछि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हुने त्रिपक्षीय छलफलको तयारी गरेका छन् ।








