काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा हिंसात्मक घटना भएका छन् । प्रदर्शनका क्रममा सत्तारुढ दलका दुई कार्यकर्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वअन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको पुर्ख्यौली घरमा समेत आगजनी गरिएको छ ।

हसिनाको स्वदेश फिर्तीको माग गर्दै अवामी लिगले बिहीबार देशव्यापी बन्द आह्वान गरेको हो । नयाँ राहदानी र परिचयपत्र उपलब्ध गराउन सरकारले अस्वीकार गरेपछि पार्टीले एक सातादेखि विरोध प्रदर्शन तथा र्‍याली गर्दै आएको थियो ।

प्रदर्शनका क्रममा राजधानी ढाकासहित देशका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधि भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार पछिल्लो १० दिनमा कम्तीमा २८ जिल्लामा घरेलु बम विस्फोट तथा सवारीसाधनमा आगजनीका दर्जनौँ घटना भएका छन् । ती घटनामा प्रहरी अधिकारी र सर्वसाधारणसमेत घाइते भएका छन् ।

हिंसा नियन्त्रणका लागि बंगलादेश बोर्डर गार्डका ९७ प्लाटुन सुरक्षाकर्मी सात जिल्लामा परिचालन गरिएको प्रवक्ता सरिफुल इस्लामले बताएका छन् । हसिनाको प्रभाव क्षेत्र मानिने गोपालगन्ज र फरिदपुरलगायत जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसैबीच, राजधानी ढाकाबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको चटगाउँस्थित युनुसको पुर्ख्यौली घरमा बुधबार राति आगजनी गरिएको प्रहरीले जनाएको छ । घरको प्रयोगमा नरहेको भुइँतलाको कोठामा प्रज्वलनशील पदार्थ फालिएको हुन सक्ने स्थानीय प्रहरी प्रमुख मोजाम्मेल हकले बताएका छन् । घरको माथिल्लो तलामा बस्दै आएका युनुसका परिवारका सदस्य भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

युनुसले स्थापना गरेको ग्रामीण बैंकका शाखा तथा कार्यालय पनि प्रदर्शनकारीको निशानामा परेका छन् । बैंकका अनुसार नोभेम्बर १० यता कम्तीमा ३७ वटा शाखा तथा कार्यालयमा आगजनी वा आगजनीको प्रयास भएको छ । मंगलबार मध्यरातपछि मात्रै थप १४ स्थानमा आक्रमण भएको बैंकले जनाएको छ ।

यसैबीच, सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको दमनसँग सम्बन्धित मुद्दामा मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छन् । सन् २०२४ अगस्टमा सत्ता छाडेर भारत पुगेकी उनी त्यसयता निर्वासनमा बस्दै आएकी छन् ।

बिहीबार बंगलादेश प्रहरीले पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदलाई पनि ढाकास्थित निवासबाट पक्राउ गरेको छ । सन् २०२४ को आन्दोलनका क्रममा भएका हत्यासम्बन्धी आरोपमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताएका छन् ।

बंगलादेशमा पछिल्लो हिंसात्मक घटनाक्रमसँगै राजनीतिक तनाव थप बढेको छ । सरकारले हिंसामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय