काठमाडौं । Samsung Nepal र Ncell ले नेपालमा डिजिटल प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यसहित आफ्नो सहकार्यलाई थप मजबुत बनाएका छन्। दुई कम्पनीबीचको साझेदारीमार्फत ग्राहकलाई आधुनिक स्मार्टफोन, एआई प्रविधि तथा तीव्र गतिको मोबाइल इन्टरनेट सेवा सहज रूपमा उपलब्ध गराउने योजना अघि सारिएको छ।

सहकार्यअन्तर्गत छनोट गरिएका Samsung Galaxy स्मार्टफोन खरिद गर्ने ग्राहकले निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, अतिरिक्त वारेन्टी र सहज किस्ताबन्दीमा फोन खरिद गर्न सक्ने सुविधा पाउनेछन्।

विशेषगरी पुरानो 2G प्रविधिबाट 4G नेटवर्कमा स्तरोन्नति गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देश्यले छुट्टै अभियान सञ्चालन गरिने भएको छ। यस योजनाअन्तर्गत जुनसुकै 2G मोबाइल फोन साटेर Samsung को 4G स्मार्टफोन खरिद गर्दा ग्राहकले ५ हजार रुपैयाँसम्म एक्सचेन्ज सुविधा पाउनेछन्। साथै, न्यूनतम १ हजार २२१ रुपैयाँबाट सुरु हुने मासिक किस्ताबन्दीको विकल्पसमेत उपलब्ध हुनेछ।

किफायती मूल्यमा आधुनिक प्रविधि उपलब्ध गराउने लक्ष्यसहित Samsung ले Galaxy A17 लगायतका स्मार्टफोनमार्फत एआई सुविधालाई थप ग्राहकसम्म पुर्‍याउने जनाएको छ। कम्पनीका अनुसार स्मार्टफोनमा जेनेरेटिभ एआईको प्रयोग बढिरहेको अवस्थामा यस्ता सुविधा सामान्य प्रयोगकर्ताका लागि पनि उपयोगी बन्ने अपेक्षा गरिएको छ।

Galaxy स्मार्टफोनसँग Ncell का निःशुल्क प्याक

साझेदारीअनुसार निश्चित Galaxy मोडेल खरिद गर्ने ग्राहकले मोडेलअनुसार ९ देखि १२ महिनासम्म Ncell का छनोट गरिएका मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

Z Fold8, Flip8, Fold7, S26 Ultra, S26+, S26 र S26 FE खरिद गर्ने ग्राहकले मासिक ७९९ रुपैयाँ मूल्यको अनलिमिटेड डेटा तथा भ्वाइस सेवा, Lionsgate सामग्री र दैनिक १०० SMS सहितको प्याक १२ महिनासम्म निःशुल्क पाउनेछन्। उक्त प्याकको कुल मूल्य ९ हजार ५८८ रुपैयाँ रहेको छ।

त्यसैगरी A17, M17 र A07s मोडेल खरिद गर्ने ग्राहकले मासिक ४४९ रुपैयाँ मूल्यको ७ जीबी डेटा र अनलिमिटेड भ्वाइस सुविधा नौ महिनासम्म निःशुल्क प्राप्त गर्न सक्नेछन्। यस प्याकको कुल मूल्य ४ हजार ४१ रुपैयाँ हुन्छ।

प्रिमियम Galaxy फोनमा १० हजारसम्म एक्सचेन्ज बोनस

Samsung ले प्रिमियम स्मार्टफोन खरिदलाई सहज बनाउन Hulas Fin Serve सँगको सहकार्यमा किस्ताबन्दी योजना पनि सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत छनोट गरिएका फ्ल्यागशिप स्मार्टफोन ३६ महिनासम्मको EMI सुविधामा खरिद गर्न सकिनेछ। मासिक किस्ता ५ हजार १०६ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। अन्य छनोट गरिएका Galaxy स्मार्टफोनमा २४ महिनासम्मको किस्ताबन्दी सुविधा पनि उपलब्ध हुनेछ।

Galaxy Z तथा S सिरिजका योग्य मोडेलमा अपग्रेड गर्ने ग्राहकले १० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनसका साथै एक वर्षको अतिरिक्त वारेन्टी पाउनेछन्। A17, M17 र A07s मोडेलमा भने ५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध हुनेछ।

विद्युतीय फोहोर व्यवस्थापनमा पनि सहकार्य

स्मार्टफोनको पहुँच विस्तारसँगै वातावरणीय जिम्मेवारीलाई समेत प्राथमिकता दिने Samsung को योजना छ। यसका लागि कम्पनीले CypherBlk सँग सहकार्य गर्दै प्रयोग भइसकेका विद्युतीय उपकरणको व्यवस्थित सङ्कलन तथा जिम्मेवार व्यवस्थापनलाई प्रोत्साहन गर्ने भएको छ।

यस पहलले पुराना डिभाइसलाई उचित व्यवस्थापन गर्दै नयाँ प्रविधिमा स्तरोन्नति गर्न ग्राहकलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ। सम्बन्धित सेवा Samsung का सेवा केन्द्र तथा छनोट गरिएका ब्रान्ड स्टोरमार्फत उपलब्ध हुनेछन्।

Samsung Nepal का प्रबन्ध निर्देशक चाङ उक जङले यस सहकार्यलाई स्मार्टफोन बिक्रीमा सीमित नराखी देशमा समावेशी डिजिटल वातावरण निर्माण गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। एआई प्रविधिको पहुँच विस्तार, 4G अपग्रेड, प्रिमियम स्मार्टफोनलाई सहज रूपमा उपलब्ध गराउने र विद्युतीय फोहोर व्यवस्थापनमा जोड दिनु साझेदारीका प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।

नोभेम्बर २० देखि प्रि-अर्डर खुल्ने

Samsung का सम्बन्धित नयाँ स्मार्टफोनका लागि नोभेम्बर २० देखि २३ सम्म प्रि-अर्डर गर्न सकिनेछ। कम्पनीका अनुसार उपलब्ध गराइएको QR कोडमार्फत प्रि-अर्डर गर्ने ग्राहकले ४ हजार ९९९ रुपैयाँ मूल्य पर्ने Buds Core इयरबड्समा ६२ प्रतिशत छुट पाउनेछन्।

यस सहकार्यले नेपालमा आधुनिक मोबाइल प्रविधि, एआई सुविधा र तीव्र गतिको इन्टरनेट सेवाको प्रयोग विस्तारमा सहयोग पुग्ने दुवै कम्पनीको अपेक्षा छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय