काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद थप चर्किँदै गएको दाबी गरेका छन्। उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीचको शक्ति संघर्षले कुनै पनि बेला अप्रत्याशित राजनीतिक अवस्था सिर्जना हुन सक्ने टिप्पणी गरेका छन्।
दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पुनले रास्वपाभित्रको विवाद पार्टीको आन्तरिक विषयमा मात्र सीमित नरहेको बताए।
उनका अनुसार प्रधानमन्त्री र पार्टी सभापतिबीचको शक्ति संघर्षले राज्यका विभिन्न निकायसमेत प्रभावित भएको छ। उनले कुनै पनि बेला रास्वपा विभाजन हुन सक्ने, प्रधानमन्त्री बालेनले सभापति लामिछानेलाई पक्राउ गराउन सक्ने वा लामिछानेले प्रधानमन्त्रीलाई पदबाट हटाएर आफैँ सरकारको नेतृत्व लिन सक्ने अवस्थालाई अस्वीकार गर्न नसकिने बताए।
पुनले रास्वपाभित्रको विवाद अदालत, प्रहरी प्रशासन र सञ्चारमाध्यमसम्म पुगेको आरोपसमेत लगाए। सर्वोच्च अदालतमा नयाँ न्यायाधीश नियुक्ति र प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनको प्रसंग उल्लेख गर्दै उनले यी घटनालाई पार्टीभित्रको शक्ति संघर्षसँग जोडेर व्याख्या गरे।
उनले राज्यका निकायमा राजनीतिक निकटताका आधारमा व्यवहार हुने गरेको आरोप लगाउँदै कानुनी प्रक्रिया र विधिभन्दा व्यक्ति विशेषसँगको सम्बन्धलाई प्राथमिकता दिने प्रवृत्ति बढेको टिप्पणी गरे।
सरकारले विभिन्न व्यक्तिलाई पक्राउ गर्ने र पछि प्रमाण नपुगेको भन्दै छाड्ने गरेको उल्लेख गर्दै पुनले पूर्वप्रधानन्यायाधीश, सरकारी सचिव तथा उद्योगी–व्यवसायीमाथि गरिएको कारबाहीको शैलीप्रति प्रश्न उठाए। यस्तो कार्यशैलीले राज्य सञ्चालनमा स्वेच्छाचारिता बढाएको उनको दाबी छ।
सरकारको स्थायित्वमाथि पुनको प्रश्न
नेता पुनले एउटै दलले बहुमत प्राप्त गरे पनि मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
उनले जनताले पाँच वर्षको स्थिर सरकारको अपेक्षासहित मत दिएको स्मरण गराउँदै सत्तारुढ दलभित्रै देखिएको विवादले राजनीतिक अनिश्चितता बढाएको बताए।
विगतमा विभिन्न दलको सहकार्यमा सरकार सञ्चालन भएको प्रसंग उल्लेख गर्दै उनले एकल बहुमतको सरकार हुँदासमेत स्थायित्वको प्रत्याभूति हुन नसकेको टिप्पणी गरे।
संसद् विघटन र संविधानमाथि खतरा रहेको दाबी
रास्वपाभित्रको आन्तरिक विवाद थप चर्किए प्रधानमन्त्री बालेनले राजनीतिक संकट व्यवस्थापनका नाममा संसद् विघटन गरी मध्यावधि निर्वाचनतर्फ जान सक्ने आशंका पनि पुनले व्यक्त गरे।
उनले आन्तरिक शक्ति संघर्षकै कारण संसद् विघटन, संविधान खारेजी र वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्ने प्रयास हुन सक्ने खतरा रहेको बताए।
जेनजी आन्दोलनपछि प्राप्त राजनीतिक उपलब्धि उल्टिने जोखिम अझै कायम रहेको उनको भनाइ थियो। मुलुकमा प्रतिक्रान्तिको सम्भावना पूर्ण रूपमा समाप्त नभएको उल्लेख गर्दै उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको पक्षमा रहेका शक्तिहरू सचेत हुनुपर्नेमा जोड दिए।
पुनले सम्भावित राजनीतिक चुनौतीको सामना गर्न वामपन्थी दलहरूबीच सहकार्य र ध्रुवीकरण आवश्यक रहेको बताए। साथै संविधानलाई स्वीकार गर्ने लोकतान्त्रिक शक्तिहरूबीच पनि सहकार्य हुनुपर्ने उनको धारणा थियो।
नेकपा एमालेसँग समेत सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र वैदेशिक हस्तक्षेपविरुद्ध राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए।
रास्वपाभित्रको शक्ति संघर्ष, राज्य सञ्चालनको शैली र सम्भावित राजनीतिक संकटबारे पुनले व्यक्त गरेका यी धारणा उनका राजनीतिक आरोप तथा विश्लेषण हुन्।








