कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ सेमरीमा धान काट्ने कम्बाइन मेसिन दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार लु.५ त.१४ नम्बरको कम्बाइन मेसिन सडक नजिकै रहेको पानी पोखरीमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा भारतको लखिमपुर खिरी निवासी १९ वर्षीय दिनेश कुशुवाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका कुशुवालाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्याइएको थियो। तर, चिकित्सकले बिहान ८ः५२ बजे उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा कम्बाइन मेसिनका चालक ३८ वर्षीय महेन्द्र कुशुवा, १९ वर्षीय त्रिपाल कुशुवा र कपिलवस्तुको वाणगंगा नगरपालिका–१० बिकुली निवासी ३२ वर्षीय कलिम कुशुवा घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त कम्बाइन मेसिन भारतको लखिमपुर खिरी निवासी अब्दुल हफिकको हो। दुर्घटनाका बेला चालक महेन्द्र कुशुवाले मेसिन चलाइरहेका थिए।
दुर्घटनापछि प्रहरीले चालक र कम्बाइन मेसिनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।








