ललितपुर । ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ३० वर्षीय राज रसाइलीलाई ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ निवासी रसाइलीसँगै अन्य तीन जनालाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–११ का २७ वर्षीय समिर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाइबा र भारतको बिहार निवासी २२ वर्षीय कमलेशकुमार शाह रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, दुई थान डिजिटल तराजु, २ लाख ८० हजार रुपैयाँ नगद र चार थान मोबाइल फोन बरामद गरेको छ।

ब्युरोका अनुसार उपत्यकामा लागुऔषध कारोबारविरुद्ध सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा केही दिनअघि गोकर्णेश्वरबाट समिर तामाङ र दिनेश वाइबा पक्राउ परेका थिए। उनीहरूसँगको बयानका क्रममा रसाइलीबाट लागुऔषध खरिद गर्ने गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार रसाइली करिब एक वर्षदेखि जेम्स स्कुलमा बस चालकका रूपमा कार्यरत थिए। उनी स्वयं पनि लागुऔषध सेवनकर्ता रहेको खुलेको ब्युरोले जनाएको छ। लागुऔषध सेवन गरेरै उनले विद्यार्थी बोकेको बस चलाएको हुनसक्ने प्रहरीको आशंका छ।

त्यस्तै, भारतको बिहार निवासी शाहले भारतबाट लागुऔषध ल्याएर रसाइलीलाई बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। सिराहा–काठमाडौं चल्ने सवारीसाधनमा सहचालकका रूपमा काम गर्ने शाहले लागुऔषध भित्र्याउने र रसाइलीले उपत्यकाका विभिन्न स्थानमा वितरण गर्ने गरेको ब्युरोको भनाइ छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय