गण्डकी । गण्डकी प्रदेशमा यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका सडक, पुल तथा सार्वजनिक भवनको पुनःनिर्माणका लागि ८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त रकम सार्वजनिक संरचनाको पुनःनिर्माणमा मात्रै खर्च हुने अनुमान गरिएको हो। निजी घर, जग्गा, व्यवसाय तथा कृषि क्षेत्रमा भएको क्षतिको विवरण यसमा समावेश गरिएको छैन।
प्रदेश सचिव तीर्थराज चिलुवालले प्रारम्भिक मूल्याङ्कनका आधारमा पुनःनिर्माण लागत अनुमान गरिएको जानकारी दिँदै विपद्पछिको आवश्यकता मूल्याङ्कनसम्बन्धी विस्तृत प्रतिवेदन आउन बाँकी रहेको बताए।
उनका अनुसार यस वर्ष बाढीपहिरो र डुबानलगायत मनसुनजन्य विपद्बाट गण्डकी प्रदेशका सात जिल्लाका २० स्थानीय तह प्रभावित भएका छन्।
विपद्का कारण ११ वटा सडक पुल, १५ वटा झोलुङ्गे पुल, १९ वटा विद्यालय भवन, ११ वटा सरकारी भवन र २६ किलोमिटर सडकमा क्षति पुगेको छ।
यस वर्षको मनसुनजन्य विपद्मा परी प्रदेशभर ३६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। त्यस्तै, ७३६ निजी घरमा क्षति पुगेको र सयौँ परिवार विस्थापित भएको प्रदेश सरकारले जनाएको छ।
बाढीपहिरोका कारण जलविद्युत् आयोजना, पर्यटकीय सम्पदा, सिँचाइ तथा खानेपानी पूर्वाधार, कृषि र पशुपालन क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ।
गत असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढीपहिरोले बागलुङ, पर्वत र म्याग्दीलगायत जिल्लामा ठूलो क्षति पुर्याएको थियो। त्यस्तै, असोज २५ गते बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखाका विभिन्न स्थानीय तह प्रभावित भएका थिए।
पुनःनिर्माणका लागि प्रदेश सरकार एक्लैले आवश्यक स्रोत जुटाउन नसक्ने भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।
उनले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी नदीबाट प्रभावित क्षेत्रको पुनःनिर्माणलाई एकीकृत योजनाअन्तर्गत अघि बढाउन सङ्घ सरकारसँग आग्रह गरेका छन्।
सङ्घ सरकारको कार्यक्षेत्रभित्र पर्ने क्षतिग्रस्त सडक, पुल, भवन, खानेपानी तथा सिँचाइ पूर्वाधारको मर्मत र पुनःनिर्माण तत्काल सुरु गर्नसमेत अनुरोध गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।








