काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि चार दिन म्याद थप गरेको हो।
पक्राउ पर्ने अन्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
सीआईबीका अनुसार उनीहरूमाथि वैदेशिक रोजगारीका नाममा गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोप छ।
नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा रकम उठाएर अमेरिकी डलर र बेलायती पाउन्ड मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको दाबी छ।
सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गरेको तथा पद र जिम्मेवारीको दुरुपयोग गरी संगठित समूहलाई लाभ पुर्याएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
अदालतबाट म्याद थप भएसँगै प्रहरीले घटनामा उनीहरूको भूमिका र संलग्नताबारे थप अनुसन्धान अघि बढाउने भएको छ।








