भक्तपुर । चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङ्गले रसुवा र भोटेकोशीका बाढीपीडितलाई राहत उपलब्ध गराउन, पुनर्निर्माणका काम अघि बढाउन तथा केरुङ नाका पुनः सञ्चालन गर्न चीन प्रयासरत रहेको बताएका छन्।
बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भएको भेटमा अध्यक्ष वानमिङ्गले चीनले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विपद् प्रभावित क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
तीनदिने नेपाल भ्रमणका क्रममा भक्तपुर पुगेका वानमिङ्गसहितको प्रतिनिधिमण्डलले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहयोगका विषयमा छलफल गरेको थियो। उनले भूकम्प, कोरोना महामारी तथा भोटेकोशी बाढीजस्ता कठिन परिस्थितिमा दुवै देशले एकअर्कालाई सहयोग गर्दै आएको बताए।
उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच ऐतिहासिक तथा रणनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको स्मरण गर्दै त्यसयता आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटन तथा युवा आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको बताए।
भेटमा नगरप्रमुख प्रजापतिले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा सांस्कृतिक रूपमा निकै पुरानो र घनिष्ठ रहेको बताए। उनले सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँग विवाह तथा तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत र बेइजिङमा पुर्याएको कला र वास्तुकलाले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाएको उल्लेख गरे।
सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीनले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको प्रजापतिको भनाइ थियो। सडक पूर्वाधार, उद्योग स्थापना तथा ट्रलीबस सञ्चालनलगायत क्षेत्रमा चीनको सहयोग नेपालको विकास यात्रामा महत्वपूर्ण रहेको उनले बताए।
भेटघाटपछि चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलहरूको अवलोकन गरेको थियो। टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी र तालाक्व क्षेत्रको भ्रमण गरेको नगरपालिकाले जनाएको छ।
भ्रमण टोलीमा चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउन फान, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका उपमहासचिव ची योङ्गच्युनलगायत विभिन्न अधिकारी सहभागी थिए।








