जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मधेस प्रदेशलाई प्राथमिकतामा राखेर सरकारले विकास निर्माणका कार्यक्रम अघि बढाइरहेको बताएका छन् ।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरधाममा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले सडक, खानेपानी, ढल निकास र ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अन्य प्रदेशको तुलनामा मधेसमा बढी बजेट विनियोजन गरिएको बताए ।
उनले सरकारले श्रमिकको पारिश्रमिक वृद्धि गरेर बेल्चा चलाउने श्रमिकको दैनिक ज्याला आगामी मङ्सिरदेखि १ हजार ७०० रुपैयाँ पुर्याउने जानकारी दिए । हाल त्यस्ता श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै पारिश्रमिक पाइरहेको उल्लेख गर्दै उनले ज्याला वृद्धिबाट मधेसका श्रमिक बढी लाभान्वित हुने दाबी गरे ।
मन्त्री लम्सालले मधेसको समग्र विकास र नागरिकको जीवनस्तर सुधार सरकारको प्राथमिकतामा रहेको बताउँदै पूर्वाधार निर्माणका कामलाई तीव्रता दिइने प्रतिबद्धता जनाए ।
यसैबीच, मन्त्री लम्सालले बिहीबार धनुषाका विभिन्न स्थानमा निर्माणाधीन पुलहरूको स्थलगत निरीक्षण गरेका छन् । उनले ढल्केबर–जनकपुरधाम सडकखण्डअन्तर्गतको बससी पुल, मिथिला बिहारी नगरपालिकास्थित कटरेत पुल, सिर्सियाको जालाद पुल, इच्छापुरस्थित जालाद पुल र मिथिला सागर पुलको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा उनले आयोजनाको प्रगति, निर्माणको अवस्था र देखिएका समस्याबारे जानकारी लिएका थिए । साथै, स्थानीयवासी तथा निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै आयोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरी निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए ।








