काठमाडौं । साउदी अरबमा भएको हवाई आक्रमणका क्रममा घाइते भएका एक नेपाली कामदारको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा अन्य तीन नेपाली नागरिकसमेत घाइते भएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गत मंगलबार भएको आक्रमणका क्रममा घाइते भएका नेपालीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनको शरीरको करिब ६८ प्रतिशत भाग जलेको थियो।

मन्त्रालयका अनुसार आक्रमणका क्रममा प्रहार गरिएका मिसाइल तथा ड्रोनलाई साउदी अरबको हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पार्ने प्रयास गर्दा खसेका टुक्राबाट नेपाली नागरिकहरू प्रभावित भएका हुन्।

यस घटनामा चार नेपाली प्रभावित भएको मन्त्रालयले जनाएको छ। तीमध्ये एक जनाको मृत्यु भएको छ भने एक जना सामान्य उपचारपछि अस्पतालबाट फर्किएका छन्। अन्य दुई जना गम्भीर घाइते अवस्थामा उपचाररत छन्।

घाइते नेपालीको अवस्था बुझ्न तथा मृतकको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाउन साउदी अरबस्थित नेपाली दूतावासले समन्वय गरिरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन्। साथै, त्यहाँ रहेका नेपाली समुदायलाई सतर्क रहन आग्रह गरिएको छ।

नेपाल सरकारद्वारा आक्रमणको निन्दा

साउदी अरबमा भएको घटनामा नेपाली नागरिकको मृत्यु र अन्य तीन जना घाइते भएपछि नेपाल सरकारले दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मन्त्रालयले नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुने स्पष्ट पारेको छ।

नेपालले द्वन्द्वमा संलग्न सबै पक्षलाई संयम अपनाउन र विवादको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गरेको छ।

तेल प्रशोधन केन्द्रमा समेत आक्रमण

यसैबीच, साउदी अरबको जजानस्थित तेल प्रशोधन केन्द्रमा पनि हवाई आक्रमण भएको विवरण सार्वजनिक भएको छ। आक्रमणपछि केन्द्रमा आगलागी हुनुका साथै केही समयका लागि सञ्चालन प्रभावित भएको बताइएको छ।

यसअघि साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनका हुथी विद्रोहीमाथि आक्रमणको आरोप लगाएको थियो। हुथी विद्रोहीले पनि साउदी अरबका विभिन्न ऊर्जा तथा तेल निर्यात केन्द्रलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका थिए।

हुथी विद्रोहीविरुद्ध सैन्य कारबाही गर्दै आएको साउदी नेतृत्वको गठबन्धनले नागरिक तथा सार्वजनिक पूर्वाधारमाथि हुने आक्रमणको जवाफ कडा सैन्य कारबाहीबाट दिने चेतावनी दिएको छ।

क्षेत्रीय तनाव बढिरहेका बेला साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षालाई लिएर समेत चिन्ता बढेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय