अर्घाखाँची । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षभन्दा बढी समय जेल जीवन बिताएर रिहा भएका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी गृह जिल्ला अर्घाखाँची फर्किएका छन्। शुक्रबार गृह जिल्ला आइपुगेका रायमाझीले आफूलाई खरानी बनाउने उद्देश्यले भट्टीमा हाले पनि झन् खारिएर निस्किएको बताएका छन्।

कात्तिक २६ गते रिहा भएका रायमाझीलाई सन्धिखर्कमा आयोजित स्वागत कार्यक्रममा समर्थक तथा शुभेच्छुकले स्वागत गरेका थिए। सो अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूविरुद्ध विभिन्न बहानामा षड्यन्त्र गरिएको आरोप लगाए। त्यसकै परिणामस्वरूप लामो समय जेल जीवन बिताउनुपरेको उनको भनाइ थियो।

गृह जिल्ला आगमनका क्रममा रायमाझीलाई एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसालसहित नेता तथा कार्यकर्ताले सन्धिखर्कस्थित मदन–आश्रित स्मृति भवनमा स्वागत गरेका थिए। त्यसपछि सन्धिखर्क नगरपालिकामा पनि उनको स्वागत गरिएको थियो। कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रलगायत स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो।

स्वागत तथा भेटघाटका क्रममा रायमाझीले जिल्लाको विकास निर्माणका अधुरा योजनाप्रति चासो व्यक्त गरे। आफू सक्रिय राजनीतिमा रहँदा अघि बढाउन खोजिएका विभिन्न आयोजना पछिल्लो समय बजेट अभाव र अन्य कारणले अपेक्षित गतिमा अगाडि बढ्न नसकेको उनले बताए।

विशेषगरी अर्घा भगवती विमानस्थल, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, मदन भण्डारी मार्ग तथा अर्घाखाँची अस्पतालको भवन निर्माणले गति लिन नसकेको विषय उनले उठाएका थिए।

आफू जेल परेपछि अर्घा भगवती विमानस्थल निर्माणको काम प्रभावित भएको उनको दाबी छ। जिल्लाको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने विमानस्थल निर्माणले निरन्तरता पाउन नसकेको उनले बताए।

त्यस्तै, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकलाई अर्घाखाँचीसहित लुम्बिनी प्रदेशका पहाडी क्षेत्रको आर्थिक तथा पर्यटकीय विकाससँग जोडिएको महत्त्वपूर्ण आयोजना भन्दै उनले यसको निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए।

अर्घाखाँची अस्पतालको नयाँ भवन निर्माणका विषयमा पनि उनले आफ्नो चासो रहेको बताए। आफू जेलमा रहँदा समेत विभिन्न माध्यमबाट समन्वय र पहल गरी भवन निर्माणको काम अघि बढाउन सहयोग गरेको उनको दाबी छ।

लामो समयपछि गृह जिल्ला फर्किएका रायमाझीको स्वागतमा एमाले नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता देखिएको थियो। उनको आगमनलाई जिल्लाको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जीवन बिताएर रिहा भएपछि रायमाझीले पहिलोपटक गृह जिल्लामा सार्वजनिक अभिव्यक्ति दिएका हुन्। एकातिर आफूविरुद्ध षड्यन्त्र भएको आरोप लगाएका उनले अर्कोतर्फ जिल्लाका अधुरा विकास आयोजनालाई पुनः प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

उनको पुनरागमनसँगै अर्घाखाँचीको राजनीतिमा उनको आगामी भूमिका कस्तो रहने र लामो समयदेखि अधुरा रहेका विकास आयोजनाले गति लिन्छन् कि लिँदैनन् भन्ने विषय चासोको केन्द्रमा रहने देखिन्छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय