काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्।
शुक्रबार रौतहट जिल्ला अधिवेशनको उद्घाटन गर्दै १५औँ महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले आधिकारिक कांग्रेस भएकै कारण पार्टीले नियमित महाधिवेशन प्रक्रिया अघि बढाएको बताए।
उनले नेपालको वर्तमान आर्थिक संरचनाको आधार नेपाली कांग्रेस नेतृत्वको २०४८ सालको सरकारले तयार पारेको दाबी गरे। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको तत्कालीन सरकारले आर्थिक उदारीकरण र बहुदलीय संसदीय व्यवस्थालाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
२०४८ सालपछि गाउँगाउँमा सडक, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रको आधार निर्माण गरिएको उल्लेख गर्दै उनले विश्वविद्यालय तथा हवाई सेवाको विस्तारमा समेत तत्कालीन सरकारले योगदान गरेको बताए।
कांग्रेसले विगतमा गरेका कामको प्रभावकारी प्रचार गर्न नसक्दा पछिल्लो ३५ वर्षमा देशमा कुनै उपलब्धि नभएको भाष्य निर्माण भएको कोइरालाले टिप्पणी गरे।
उनले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात् गर्दै सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए। १५औँ महाधिवेशनलाई पार्टीभित्रको एकता र संगठन सुदृढीकरणको अवसर बनाउनुपर्ने उनको भनाइ थियो।








