काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले आफ्नो ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाले नेपालको शैक्षिक गुणस्तर सुधार र विद्यार्थी पलायन रोक्न स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा राजेन्द्रध्वज जोशी, पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ र मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा उपेन्द्र कोइरालालगायत सहभागी थिए।

कार्यक्रममा वक्ताहरूले नेपालको वर्तमान शैक्षिक अवस्था, शिक्षाको गुणस्तर र उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीको बढ्दो प्रवृत्तिबारे धारणा राखेका थिए। उनीहरूले विद्यार्थी पलायन न्यूनीकरण गर्न स्वदेशमै गुणस्तरीय, व्यावहारिक र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

यसका लागि शैक्षिक संस्थाहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै वक्ताहरूले शिक्षा क्षेत्रको सुधारमा हिसानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।

हिसानका अध्यक्ष युवराज शर्माले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षा क्षेत्रको विकासमा संस्थाले निरन्तर योगदान पुर्‍याउँदै आएको बताए। उनले आगामी दिनमा पनि शैक्षिक गतिविधि र संस्थागत पहललाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा जोशीले नेपालको शिक्षा क्षेत्रमा हिसानले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। उनले संस्थाले आफ्नो भूमिका र योगदानलाई अझ विस्तार गर्दै शैक्षिक विकासमा सक्रिय हुनुपर्ने धारणा राखे।

स्थापना दिवसकै अवसरमा हिसानले आज बिहान काठमाडौंमा म्याराथन दौडसमेत आयोजना गरेको थियो। विभिन्न कार्यक्रममार्फत स्थापना दिवस मनाएको हिसानले शिक्षा क्षेत्रको विकास, गुणस्तर अभिवृद्धि र विद्यार्थी पलायन न्यूनीकरणका विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय