सर्लाही । सर्लाहीको बरहथवामा मोटरसाइकल अनियन्त्रित भएर पुलबाट नहरमा खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
बुधबार साँझ करिब ७:४५ बजे बरहथवा नगरपालिका–१७ कटानीस्थित पुलबाट मोटरसाइकल नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई नहरमा खसेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१ नयाँ बजारका २३ वर्षीय रुपेश पासवान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बरहथवास्थित भेनस अस्पताल पुर्याइएकोमा चिकित्सकले राति ७:५५ बजे मृत घोषणा गरेका थिए।
मोटरसाइकलको पछाडि सवार सोही स्थानका २२ वर्षीय सुवेश पासवान घाइते भएका छन्। उनको चिउँडोमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।








