काठमाडौं । नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणाली अझै स्वच्छ र निष्पक्ष बन्न नसकेको बताएकी छन् । आफूले निर्वाचन लड्दा भोगेको बुथ कब्जा र धाँधलीका प्रमाण सुरक्षित रहेको दाबीसमेत उनले गरेकी छन् ।

शुक्रबार ललितपुरमा निर्वाचन आयोगले सरोकारवालासँग आयोजना गरेको छलफलमा बोल्दै अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा अस्वाभाविक रूपमा ९९ प्रतिशतसम्म मतदान भएको तर त्यसविरुद्ध कुनै प्रभावकारी उपचार नभएको गुनासो गरिन् ।

‘हाम्रो निर्वाचन क्लिन छैन । म चुनाव लड्दा मैले के भोगिनँ ? एक सयमा ९९ प्रतिशत भोट आजसम्म खसेकै छैन, मेरो निर्वाचन क्षेत्रमा खस्यो तर उपचार त भएन,’ उनले भनिन् ।

आफूसँग कुन स्थानमा बुथ कब्जा भयो, कहाँ धाँधली भयो र कसरी मत हालियो भन्ने विषयका तथ्यसहितका प्रमाण रहेको उनको दाबी छ ।

अर्यालले निर्वाचनमा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको आरोप लगाउँदै ‘मनी, मसल र मिडिया’ ले निर्वाचन प्रभावित हुने गरेको बताइन् ।

निर्वाचन प्रणालीमा सुधार गर्नुअघि विद्यमान विकृति र समस्याको सही पहिचान आवश्यक रहेको उनको भनाइ थियो । समस्या पहिचान नगरी समाधान खोज्न नसकिने उनले बताइन् ।

यसैगरी, नागरिक जहाँ रहे पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले अन्तरजिल्ला तथा अन्तरदेशीय मतदानको व्यवस्थालाई व्यावहारिक पक्षबाट समेत मूल्याङ्कन गर्न निर्वाचन आयोगलाई सुझाव दिइन् ।

काठमाडौँमा बस्ने नागरिकले आफ्नो गृहजिल्लाबाटै मतदान गर्न पाउने व्यवस्था गर्दा प्रत्येक मतदान केन्द्रमा ७७ जिल्लाका छुट्टाछुट्टै मतपेटिका राख्नुपर्ने अवस्था आउन सक्ने उदाहरण दिँदै उनले यसको व्यवस्थापन र कानुनी जटिलता पहिले नै सम्बोधन गर्नुपर्ने बताइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय