काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिए पनि खारिएर स्टिल बनेर फर्किएको बताएका छन् ।
शुक्रबार गृहजिल्ला अर्घाखाँची पुगेका रायमाझीले जेल जीवनले आफूलाई धेरै कुरा सिकाएको र आत्मविश्वास तथा शक्ति थपिएको दाबी गरे ।
‘भट्टीमा हालेर खरानी बनाउन खोजिएको थियो, भट्टीमा खारिएर स्टिल भएर आएको छु,’ उनले भने ।
जेल बसाइका क्रममा आफूले समय खेर नफाली विश्व राजनीति, विज्ञान र प्रविधिबारे अध्ययन गरेको उनले बताए । हिजोभन्दा अहिले देश विकास र समृद्धिका लागि काम गर्ने आँट तथा आत्मविश्वास बढेको उनको भनाइ थियो ।
रायमाझीले पुराना राजनीतिक दलहरू पनि नयाँ सोच र शैलीका साथ अघि बढ्नुपर्नेमा जोड दिए । देशलाई कसरी विकासको बाटोमा लैजाने भन्ने विषयमा जेल जीवनबाट धेरै कुरा सिकेर आएको उनले बताए ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी गत कात्तिक अन्तिम साता थुनामुक्त भएका थिए ।








