काठमाडौं । नेपाली कांग्रेसले देउवा समूहले आयोजना गर्न लागेको समानान्तर महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रुख तथा चारतारे झण्डाको प्रयोग रोक्न माग गर्दै निर्वाचन आयोग जाने तयारी गरेको छ ।
१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको अवस्थामा देउवा समूहले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्दै समानान्तर महाधिवेशन अघि बढाएपछि कांग्रेस आयोग जान लागेको हो ।
कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएर देउवा समूहलाई रुख चिह्न र चारतारे झण्डा प्रयोग गर्न नदिन आयोगसँग माग गर्ने तयारी गरेको एक शीर्ष नेताले जानकारी दिएका छन् ।
‘एउटै पार्टीको दुईवटा महाधिवेशन हुन सक्दैन । कांग्रेसको महाधिवेशन सम्पन्न भएर निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको छ,’ एक पदाधिकारीले भने, ‘कांग्रेसको रुख र झण्डा प्रयोग गरेर अर्को महाधिवेशन गर्न मिल्दैन । त्यसैले हामी आयोग जान्छौँ ।’
यता, देउवा समूहले भने पार्टीको रुख चुनाव चिह्न र चारतारे झण्डा प्रयोग गर्दै वडा, पालिका, क्षेत्रीय, जिल्ला हुँदै प्रदेश तहका अधिवेशनहरू सञ्चालन गरिरहेको छ ।
उक्त समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको छ ।








