काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेश हुने विश्वास व्यक्त गरेको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रतिवेदन बुझाउने प्रक्रिया अघि बढ्ने र दुवै प्रधानमन्त्रीसमक्ष पेश गर्न समय प्राप्त हुने अपेक्षा गरिएको बताए ।
उनका अनुसार ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले प्रतिवेदन राखिएको साँचो गत जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गरेका थिए । दुवै पक्षको सहमतिअनुसार प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीसमक्ष पेश गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए ।
मन्त्रालयले ईपीजी प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयलाई दुवै देशले संयुक्त रूपमा अघि बढाउनुपर्ने धारणा राखेको छ ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप व्यवस्थित र समयसापेक्ष रूपमा अघि बढाउन संयुक्त भिजन डकुमेन्टमार्फत दिशा निर्देश गरेको मन्त्रालयले जनाएको छ । उक्त दस्तावेज कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सम्बन्धित निकायसँग समन्वय र पत्राचार गरिसकेको प्रवक्ता क्षेत्रीले बताए ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा सम्बन्धी बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
सीमा समस्या समाधानको प्रक्रिया अघि बढाउन दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशन दिइएको छ । दुवै पक्षलाई अनुकूल हुने समयमा सचिवस्तरीय बैठक बसेर लामो समयदेखि थाँती रहेका सीमा सम्बन्धी विषयमा छलफल अघि बढाइने मन्त्रालयले जनाएको छ ।








