काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेससँग राजनीतिक प्रतिस्पर्धा गर्न कठिन हुने देखेपछि पार्टीमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् ।
मङ्सिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले कांग्रेसका सबल पक्ष, गौरवपूर्ण इतिहास र समावेशी विधानको प्रभावकारी प्रचार हुन नसकेको बताए ।
कांग्रेसलाई नेपालको राजनीतिको ‘विश्वविद्यालय’ को संज्ञा दिँदै पौडेलले अन्य राजनीतिक दलले समेत कांग्रेसबाट सिक्ने गरेको दाबी गरे । पार्टीको विधान मुलुककै सबैभन्दा समावेशी भए पनि त्यसबारे नागरिकस्तरमा पर्याप्त जानकारी पुर्याउन नसकिएको उनको भनाइ थियो ।
पार्टीको इतिहास, समावेशी चरित्र र समाजका मुद्दालाई सँगसँगै अघि बढाउन सके कांग्रेसलाई कमजोर बनाउन कसैले नसक्ने उनले बताए ।
बैठकमा महामन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैलीको पनि आलोचना गरे । सरकारले संसद्लाई हेपेको, महँगीको भार नागरिकमाथि थोपरेको र राष्ट्रियतामाथि प्रहार गरेको उनको आरोप थियो । सुनकोसी मरिन डाइभर्सनदेखि पासपोर्ट काण्डसम्मका अनियमिततामा सरकार जोडिएको दाबी गर्दै उनले त्यसविरुद्ध कांग्रेसले सशक्त आवाज उठाउनुपर्ने बताए ।
पार्टीलाई नागरिकसँग प्रत्यक्ष जोड्न कार्यशैलीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै पौडेलले वडा तहका बैठकमा स्थानीय नागरिकका कम्तीमा तीनवटा प्रमुख समस्या अनिवार्य रूपमा एजेन्डा बनाउनुपर्ने धारणा राखे ।
किशोरकिशोरीदेखि ज्येष्ठ नागरिक तथा सबै वर्ग र समुदायले कांग्रेसले आफ्ना मुद्दा उठाएको अनुभूति गर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।
त्यस्तै, जिल्ला, पालिका र वडा तहमा हुने पार्टीका कार्यक्रमलाई औपचारिक बैठक तथा भाषणमा मात्र सीमित राख्न नहुने उनको भनाइ थियो । परम्परागत कार्यक्रम शैली परिवर्तन गर्दै स्थानीय समस्यासमेत पहिचान गरेर पार्टीका एजेन्डाका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
समाजका सबै वर्ग, समुदाय र उमेर समूहलाई कांग्रेससँग जोड्न सके मात्रै पार्टीप्रति नागरिकको विश्वास र अपनत्व बलियो हुने पौडेलको धारणा थियो ।








