काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा आगामी निर्वाचनका लागि थप चुनौती सिर्जना भएको जनाएको छ ।

शुक्रबार ललितपुरमा आयोजित आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनसम्बन्धी सरोकारवालासँगको छलफलमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन् ।

उनले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा तथा सामाजिक सञ्जालमार्फत फैलिने गलत र भ्रामक सूचनाका चुनौती सम्बोधन गर्न आवश्यक रहे पनि निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण नहुँदा समस्या आउन सक्ने बताए ।

भट्टराईले निर्वाचनसम्बन्धी कानुन सुधार, २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनको पूर्वतयारी, प्रविधि तथा साइबर सुरक्षाको सुदृढीकरण र आयोगको संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनका अनुसार देशभरका सबै मतदान केन्द्रको भू–स्थान (जिओ लोकेसन) पहिचान भइसकेको छ भने भू–सूचना प्रणालीसमेत अद्यावधिक गरिएको छ । मतदान केन्द्रको पूर्वाधार अवस्था पहिचान गर्न सकिने गरी प्रणालीलाई थप व्यवस्थित बनाउने काम भइरहेको उनले जानकारी दिए ।

निर्वाचनका लागि आवश्यक स्रोतसाधन र शान्ति सुरक्षाको व्यवस्थापनमा संघीय सरकारमाथि निर्भरता बढी रहेको उल्लेख गर्दै उनले स्थानीय तहसँगको समन्वय र मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि तयार गरिएको चौथो रणनीतिक योजनाको पहिलो दुई वर्षको मध्यावधि मूल्याङ्कनमा हालसम्म २४ प्रतिशत क्रियाकलाप मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको भट्टराईले जानकारी दिए ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनमार्फत लोकतन्त्रलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यसहित आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजना तयार गरेको जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय