हेटौँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई आधुनिक प्रविधि र नवप्रवर्तनको माध्यमबाट पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गरिने भएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शुक्रबार उद्योगको अवलोकन गर्दै पुराना मेसिन तथा उपकरणको स्तरोन्नति, मर्मत र स्वचालनमार्फत उद्योगलाई पुनर्जीवन दिन सकिने बताएका हुन्।

मन्त्री पुनका अनुसार उद्योगमा रहेका पुराना मेसिन अझै प्रयोग गर्न सकिने अवस्थामा रहेकाले तत्काल विस्थापन गर्नुभन्दा अनुसन्धान र नवप्रवर्तनमार्फत आधुनिक बनाउन सकिन्छ।

उनले मेसिनका लागि आवश्यक साना पार्टपुर्जा तथा उपकरणसमेत स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना खोज्नुपर्ने बताए। त्यसका लागि दक्ष प्राविधिकको टोली बनाएर उद्योगका मेसिन तथा उपकरणको विस्तृत प्राविधिक अध्ययन गरिने उनको भनाइ छ।

उद्योगमा २०३६ सालदेखि काम गर्दै आएका प्राविधिक तथा इन्जिनियरहरूको अनुभव र ज्ञानलाई समेत पुनः सञ्चालनको आधार बनाउन सकिने मन्त्री पुनले बताए।

उनले आफ्नो मन्त्रालयले उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण आर्थिक स्रोत उपलब्ध गराउन नसके पनि अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनका क्षेत्रमा सहयोग गर्ने स्पष्ट पारे।

मन्त्री पुनले उद्योगलाई आधुनिक र स्वचालित प्रणालीमा रूपान्तरण गर्न सके चारदेखि सात सय जनासम्मलाई रोजगारी दिन सकिने सम्भावना औँल्याए। उद्योग पुनः सञ्चालन हुँदा स्वदेशी उत्पादन बढ्नुका साथै रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने उनको भनाइ छ।

उनले सरकारी सम्पत्तिको संरक्षण र सदुपयोग गर्दै नयाँ प्रविधिको प्रयोगबाट बन्द उद्योगलाई उत्पादनमूलक बनाउनुपर्नेमा जोड दिए।

वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएको हेटौँडा कपडा उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि २०५९ सालमा तत्कालीन सरकारले उद्योग औपचारिक रूपमा बन्द गर्ने निर्णय गरेको थियो।

बजार व्यवस्थापनको अभाव, प्रविधि समयानुकूल परिमार्जन हुन नसक्नु, विद्युत् अभाव, आवश्यकताभन्दा बढी जनशक्ति र कमजोर व्यवस्थापकीय क्षमताका कारण उद्योग धराशायी बनेको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय