काठमाडौं । नेपाली कांग्रेसले सरकारको उदासीनताका कारण मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको र नागरिकको जनजीविका संकटमा परेको निष्कर्ष निकालेको छ ।

मङ्सिर ८ देखि ११ गतेसम्म बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय तथा निष्कर्ष सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनका अनुसार कांग्रेसले सुरुदेखि नै अर्थतन्त्रलाई सरकारको प्राथमिकतामा राख्न आग्रह गर्दै आएको थियो । अर्थतन्त्रमा देखिएका समस्या र तिनको समाधानका उपायबारे पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि सरकारले अपेक्षित गम्भीरता नदेखाएको पौडेलको आरोप छ ।

महामन्त्री पौडेलले आम नागरिकको आम्दानी र खर्चबीचको अन्तर बढ्दै गएको तथा दैनिक उपभोग्य वस्तुको महँगीले सर्वसाधारणको भान्सा प्रभावित भएको बताए । साना उद्यमी तथा व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न र बैंकको ऋण तिर्नसमेत कठिनाइ भइरहेको उनको भनाइ छ ।

बजार चलायमान हुन नसकेको, बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध हुँदाहुँदै पनि लगानी विस्तार हुन नसकेको र बैंकहरूको खराब कर्जासम्बन्धी चिन्ता बढ्दै गएको उनले उल्लेख गरे । निजी क्षेत्रको आत्मविश्वास कमजोर बनेको तथा वैदेशिक रोजगारीमा जाने युवाले समेत थप सास्ती भोग्नुपरेको पौडेलले बताए ।

उनले सहकारी पीडित, किसान, उद्यमी र श्रमिकका समस्या समाधान हुन नसकेको भन्दै सरकारी बजेटको प्रभावकारी कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार हुन नसकेको टिप्पणी गरे । भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक संस्थागत र प्रणालीगत सुधारको अनुभूति नागरिकले गर्न नपाएको पनि उनको भनाइ छ ।

‘नागरिकलाई अहिले चाहिएको आँट र भरोसा हो, डर र त्रास होइन,’ पौडेलले भने ।

गलत काम गर्ने जोसुकैलाई कानुनी कारबाही गर्नुपर्नेमा कांग्रेसको कुनै द्विविधा नरहेको स्पष्ट पार्दै उनले अनुसन्धान र कारबाही तथ्य तथा प्रमाणका आधारमा हुनुपर्ने बताए । पहिले पक्राउ गर्ने र पछि मात्रै आधार तथा प्रमाण खोज्ने प्रवृत्तिले उद्यमशीलता, लगानी र व्यावसायिक वातावरणमा नकारात्मक असर पार्ने उनको भनाइ छ ।

निजी क्षेत्रसँगै राष्ट्रसेवक कर्मचारीसमेत अनिश्चितता र त्रासका कारण आवश्यक निर्णय लिन हिचकिचाउने अवस्था बनेको पौडेलले बताए । प्रणाली निर्माण र संस्थागत सुधारमार्फत सुशासन कायम गर्नुपर्नेमा डर, दबाब र तदर्थ निर्णयका आधारमा शासन सञ्चालन गर्ने प्रवृत्ति बढेको उनले आरोप लगाए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय