काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजनीतिक गतिविधि र कार्यशैलीप्रति टिप्पणी गर्दै उनलाई ‘जासुसी उपन्यासको पात्र’को संज्ञा दिएका छन्।
शनिबार एमाले रामेछाप–काठमाडौँ सम्पर्क कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले एमालेको राजनीतिक प्रतिद्वन्द्वी को हो भन्ने स्पष्ट हुन नसकेको बताएका हुन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अभिव्यक्ति र प्रधानमन्त्री बालेनको मौनतामध्ये कुन राजनीतिक चुनौती हो भन्ने छुट्याउन कठिन भएको टिप्पणी गरे।
‘रवि लामिछानेको अभिव्यक्ति आजको हाम्रो प्रतिद्वन्द्वी हो कि बालेन शाहको मौनता हाम्रो प्रतिद्वन्द्वी हो ? त्यसको भेउ पाइएको छैन,’ उनले भने, ‘यो जासुसी उपन्यासको पात्रजस्तो छ। अदृश्य छ। न देख्न सकिन्छ, न बोल्छ, न अन्तर्क्रिया गर्छ, न प्रकट हुन्छ।’
भट्टराईले प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा भएका सहमति र जारी दस्ताबेजमाथि पनि प्रश्न उठाए। उनका अनुसार यस्तै प्रकृतिका सहमति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल वा शेरबहादुर देउवाले गरेको भए उनीहरूको चर्को आलोचना हुने थियो।
उनले बालेनको भारत भ्रमणपछि नेपाल–भारत सम्बन्धमा ठूलो परिवर्तन आएको भन्दै प्रशंसा गर्ने बुद्धिजीवीहरूको भूमिकामाथि पनि प्रश्न उठाए।
भट्टराईले प्रधानमन्त्री बालेनको पक्षमा अहिले राजनीतिक रूपमा ‘टुनामुना र तन्त्रमन्त्र’ चलिरहेको टिप्पणी गर्दै यस्तो प्रभाव सधैँ कायम नरहने दाबी गरे। उनले नक्कली जोगीको उदाहरण दिँदै जनतालाई लामो समयसम्म भ्रममा राख्न नसकिने बताए।








