जुम्ला । झारफुक गरेर निको पार्ने भन्दै १४ वर्षीया किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक झाँक्रीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ निवासी ४६ वर्षीय कालीबहादुर रोकाया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनासम्बन्धी भिडिओका आधारमा प्रहरीले रोकायालाई पक्राउ गरेको हो । शनिबार दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
रोकायाले सोही स्थानकी १४ वर्षीया किशोरीलाई झारफुक गरेर निको पार्ने भन्दै अभद्र व्यवहार गरेको आरोप छ । घटनासम्बन्धी भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
पक्राउ परेका रोकायालाई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








