धनगढी । बाजुरामा ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार जगन्नाथ गाउँपालिका–३ मनिकाँडाकी ५२ वर्षीया रामशरा देवी सिंहको शुक्रबार राति कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शव अस्पतालको शवगृहमा राखिएको छ।
यसअघि उक्त दुर्घटनामा सोही स्थानका ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको थियो।
दुर्घटनामा ट्याक्टर चालकसहित अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय चालक नवीन बोहरा तथा बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड र २२ वर्षीया संगीता शाही रहेका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ः३० बजे जगन्नाथ गाउँपालिका–३ स्थित दाउणा भन्ने स्थानमा दुर्घटना भएको थियो। पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








