काठमाडौं । अमेरिकामा आएको शक्तिशाली आँधीका कारण लाखौँ मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। आँधीका कारण हवाई यातायातसमेत नराम्ररी प्रभावित भएको छ भने जनजीवन सामान्य अवस्थामा फर्किन सकेको छैन।

बिहीबार अमेरिकाको पूर्वी तटीय क्षेत्रमा तीव्र गतिको हावाहुरी र भारी वर्षासहित शक्तिशाली आँधी आएको थियो। आँधीपछि भएको वर्षाले विभिन्न तटीय क्षेत्रमा बाढीको जोखिमसमेत बढाएको छ।

विद्युत् आपूर्तिको अवस्था निगरानी गर्ने वेबसाइट ‘पावरआउटेज डट यूएस’ का अनुसार पेन्सिलभेनिया राज्य आँधीबाट सबैभन्दा बढी प्रभावित भएको छ। शुक्रबार बिहानसम्म पनि त्यहाँ ठूलो संख्यामा उपभोक्ता विद्युत् सेवाबाट वञ्चित थिए।

आँधीको प्रभाव पूर्वी तटीय क्षेत्रमा मात्रै सीमित नरही पश्चिमी तटीय क्षेत्रमा समेत देखिएको छ। मौसममा क्रमिक सुधार हुन थाले पनि प्रभावित क्षेत्रमा जनजीवन पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने मौसमविद्हरूले बताएका छन्।

प्रतिकूल मौसमका कारण अमेरिकी हवाई सेवा पनि प्रभावित भएको छ। उडानसम्बन्धी विवरण राख्ने वेबसाइट ‘फ्लाइटअवेयर डटकम’ का अनुसार शुक्रबार मात्रै अमेरिकामा २ हजार ७०० भन्दा बढी उडान ढिला भएका छन् भने करिब १५० उडान रद्द भएका छन्।

यसअघि बिहीबार थ्याङ्क्सगिभिङ पर्वका दिन पनि खराब मौसमका कारण २ हजार ५०० भन्दा बढी उडानमा ढिलाइ भएको थियो भने ४५० भन्दा बढी उडान रद्द गर्नुपरेको थियो।

आँधीका कारण विद्युत् आपूर्ति, सडक तथा हवाई यातायात प्रभावित हुँदा अमेरिकाका विभिन्न क्षेत्रमा जनजीवन कष्टकर बनेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय