धनकुटा । बजारमा उचित मूल्य नपाउँदा बारीमै खेर जाने किबीलाई प्रशोधन गरी धनकुटामा वाइन उत्पादन सुरु गरिएको छ । महालक्ष्मी नगरपालिका–२, तोरीबारीमा स्थापना भएको तिनजुरे किबी वाइन उद्योगले ‘तिनजुरे बगान’ ब्रान्डमा उत्पादित किबी वाइन व्यावसायिक रूपमा बजारमा ल्याउने तयारी गरेको छ ।

करिब १५ करोड रुपैयाँभन्दा बढी लगानीमा स्थापना भएको बसन्तपुर तिनजुरे बेभरेज प्रालिले स्थानीय किसानबाट किबी खरिद गरी वाइन उत्पादन गर्दै आएको छ । बजारमा पठाउनुअघि उद्योगले उत्पादनको स्वाद, गुणस्तर र उपभोक्ताको रुचि परीक्षण गरिरहेको जनाएको छ ।

दसैँ र तिहारको बीचमा काठमाडौंका वाइन पारखीमाझ गरिएको परीक्षणबाट प्राप्त सुझावका आधारमा उत्पादनको स्वाद र गुणस्तरमा थप सुधार भइरहेको उद्योग सञ्चालक दुर्गामणि पौडेलले बताए । उनका अनुसार स्थानीय कृषि उपजको उपयोग बढाउने, किसानको उत्पादनलाई बजारसँग जोड्ने र गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो ।

कृषिमा आधारित उद्योग भए पनि वाइन उत्पादनमा लाग्ने अन्तःशुल्कका कारण लागत बढेको पौडेलको गुनासो छ । कृषि उपज प्रशोधन गरी मूल्य अभिवृद्धि गर्ने उद्योगलाई करमा सहुलियत दिनुपर्ने उनको माग छ ।

बजार नपाउने किबीसमेत उद्योगले खरिद गर्दै

२०७४ सालमा स्थापना भएको उद्योगले आफ्नै करिब एक सय रोपनी क्षेत्रफलमा किबी खेती गर्दै आएको छ । आफ्नै बगानको उत्पादनले मात्रै उद्योगलाई आवश्यक कच्चा पदार्थ नपुग्ने भएपछि स्थानीय किसान तथा छिमेकी जिल्लाबाट समेत किबी खरिद गर्ने गरिएको छ ।

उद्योगको वार्षिक उत्पादन क्षमता तीन लाख लिटर छ । पूर्ण क्षमतामा सञ्चालन गर्न वार्षिक पाँच सय मेट्रिक टन किबी आवश्यक पर्ने भए पनि पर्याप्त कच्चा पदार्थको अभावमा उद्योगले हाल पूर्ण क्षमतामा उत्पादन गर्न सकेको छैन ।

उद्योगले गत वर्ष किसानबाट प्रतिकिलो ८० रुपैयाँका दरले किबी खरिद गरेको थियो । चालु वर्ष बजारमा सहजै बिक्री नहुने बी र सी ग्रेडका किबीसमेत किसानको बारीबाटै खरिद गरिरहेको छ ।

यसले बजारमा बिक्री गर्न कठिन हुने वा कम मूल्यमा बेच्नुपर्ने किबीका लागि किसानलाई नयाँ बजार उपलब्ध गराएको छ । स्थानीय किसान टीकाराम गुरुङका अनुसार पहिले बिक्री नभएर बारीमै खेर जाने किबीसमेत उद्योगले खरिद गर्न थालेपछि किसानलाई राहत पुगेको छ । उत्पादनको उचित बजार नपाउँदा हुने आर्थिक क्षति कम हुन थालेपछि किबी खेतीप्रति किसानको आकर्षण पनि बढ्दै गएको उनले बताए ।

१५ करोडभन्दा बढी लगानी, २० जनासम्मलाई रोजगारी

उद्योगमा जग्गा, किबी खेती र औद्योगिक संरचनासहित हालसम्म १५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । निजी लगानीसँगै उद्योगले सरकारी तथा विकास साझेदारबाट समेत आर्थिक सहयोग प्राप्त गरेको छ ।

कृषि मन्त्रालयबाट २५ लाख रुपैयाँ र विश्व बैंकको सहयोगमा सञ्चालित आर्थिक करिडोर कार्यालयबाट ७० लाख रुपैयाँ अनुदान प्राप्त भएको उद्योगले जनाएको छ । उक्त सहयोगबाट करिब दुई करोड रुपैयाँ लागतका क्रसिङ तथा ज्याकेटेड मेसिन खरिद गरिएको थियो ।

उद्योगले नियमित रूपमा पाँच जनालाई रोजगारी दिँदै आएको छ । किबी उत्पादनको मौसममा भने कामदारको संख्या बढेर १५ देखि २० जनासम्म पुग्ने गरेको छ ।

महालक्ष्मी नगरपालिका–२ का वडा सदस्यसमेत रहेका किसान दिलबहादुर मगरले उद्योगले स्थानीय कृषि उत्पादनको बजारीकरण र रोजगारी सिर्जनामा योगदान पुर्‍याएको बताए । गाउँमै उत्पादित किबी प्रशोधन हुने भएपछि किसानले बजारको अर्को विकल्प पाएको र स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुगेको उनको भनाइ छ ।

खाडी मुलुकसम्म निर्यात गर्ने लक्ष्य

उद्योगले ‘तिनजुरे बगान’ ब्रान्डको किबी वाइन बजारमा ल्याउन अन्तिम तयारी गरिरहेको छ । गुणस्तर परीक्षण र उपभोक्ताबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधार पूरा भएपछि व्यावसायिक बिक्री सुरु गर्ने योजना रहेको सञ्चालक पौडेलले बताए ।

आगामी वर्षदेखि उत्पादन क्षमता विस्तार गर्ने र केही वर्षभित्र खाडी मुलुकसम्म किबी वाइन निर्यात गर्ने उद्योगको लक्ष्य छ ।

बारीमै खेर जाने किबीलाई प्रशोधन गरी बजारयोग्य उत्पादनमा रूपान्तरण गर्ने उद्योगको प्रयासले स्थानीय कृषि उत्पादनको मूल्य अभिवृद्धि, किसानको आम्दानी र ग्रामीण रोजगारीमा नयाँ सम्भावना देखाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय