काठमाडौं । पश्चिम अफ्रिकी मुलुक गाम्बियाबाट स्पेनतर्फ जाँदै गरेको आप्रवासी सवार डुङ्गामा १५ जनाको शव फेला परेको छ । इन्जिन बिग्रिएपछि तीन दिनसम्म समुद्रमा अलपत्र परेको उक्त डुङ्गामा सवार यात्रुहरूको खाना र पानी सकिँदा भोक र प्यासका कारण मृत्यु भएको उद्धार अधिकारीहरूले जनाएका छन् ।

करिब १०० जना आप्रवासी सवार डुङ्गा स्पेनको क्यानरी आइल्यान्ड्सस्थित एल हिएरो टापुबाट करिब ७२ किलोमिटर दक्षिणमा फेला परेको थियो । स्पेनको समुद्री उद्धार टोलीले शुक्रबार डुङ्गा फेला पारेर उद्धार अभियान सञ्चालन गरेको हो ।

उद्धार गरिएकामध्ये गम्भीर अवस्थामा रहेका ६ जनालाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको छ । अन्य यात्रुको पनि उद्धार गरी डुङ्गालाई तानेर ला एस्टाका बन्दरगाहमा ल्याइएको उद्धार अधिकारीहरूले बताएका छन् । अर्को डुङ्गामा सवार आप्रवासीहरूलाई पनि सुरक्षित रूपमा ला रेस्टिङ्गा बन्दरगाह पुर्‍याइएको छ ।

पछिल्लो समय क्यानरी आइल्यान्ड्समा आप्रवासीको आगमन उल्लेख्य रूपमा बढेको छ । समाचारमा उल्लेख भएअनुसार, यसै साता एकै दिनमा कीर्तिमानी दुई हजार १०० आप्रवासी उक्त क्षेत्रमा पुगेपछि प्रशासनले आपत्कालीन अवस्था घोषणा गरेको थियो ।

स्पेनमा हुन लागेको आम निर्वाचनको पूर्वसन्ध्यामा भएको यो घटनाले देशको राजनीतिक बहसमा आप्रवासनको मुद्दालाई थप पेचिलो बनाएको छ ।

यसैबीच, नोभेम्बर ९–१० तिर सेनेगलको यॉफ क्षेत्रबाट स्पेनका लागि प्रस्थान गरेको करिब १७२ जना सवार अर्को डुङ्गा दुई साताभन्दा बढी समयदेखि बेपत्ता रहेको जनाइएको छ । उक्त डुङ्गामा सवार यात्रुहरूको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय